यी हुन् नेकपा पर्साका नेता चौरसिया हत्याका मुख्य आरोपी

वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका जिल्ला सदस्य एवं विन्दावासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्या भएको एक महिना पुग्दा हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।
सोही गाउँपालिका ३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसियालाई प्रहरीले आइतबार वीरगन्ज २५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको हो ।

गत कात्तिक ६ मा नेकपाको विन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा पार्टीका दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ मा वीरगन्जको एक निजी अस्पतालमा मृत्यु भएको थियो ।

हत्या भएपछि अभियुक्त अशेसर फरार थिए। चौरसियाका टाउकोमा बाँसको भाटाले प्रहार गरेर निधन भएको थियो । उक्त हत्यामा संलग्न रहेको भन्दै संविधानसभा सदस्य एवं नेकपाकै नेता राजकुमार गुप्तासहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जसमध्ये बिन्दबासिनी गाउँपालिका निवासी देवा सहनी, शोकदी गदी र उत्तम भनिने निरञ्जन तिवारी पक्राउ परिसकेका छन् । अझै केही व्यक्तिहरु फरार रहेका छन् ।