बेलायती सेनाको उच्च ओहदामा पुगिन् नेपाली चेली अंशु गुरुङ

शिव भण्डारी
लण्डन । नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । उनको यो साहसले वीर गोर्खालीका सन्तानका रुपमा विश्वमा चिनिएका नेपालीले सोही छापलाई अझै प्रगाढ बनेको छ ।

मातृभूमि नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट डा. अंशु गुरुङ बेलायती सेनामा पहिलो नेपाली क्याप्टेन बन्न सफल भएकी छिन् ।

बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट अध्यन सकेर रोयल मिलिटरी एकाडमी कलेज क्यामबर्लीमा लामो तालिम सम्पन्न गर्दै उनी पहिलो पटक व्रिटिश सैनिक क्याप्टेन बन्दै नया इतिहास रच्न सफल भएकी हुन् । हालसम्म बेलायती सेनाको  उच्च  तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् ।

“ब्रिटिश सैनिकको एक प्रमुख तालिम केन्द्र स्याण्डहर्स्टमा उनलाई २१ नोभेम्बर अर्थात गत शनिवार उक्त उपाधि प्राप्त भएको हो ।’

बेलायतको फार्नबरोमा बस्दै आएका अंशुका पिता अमर गुरुङ पनि व्रिटिश आर्मी नै हुन् ।सिक्स जि आर मा काम गरेका उनले २००४ फेब्रअरीमा पेन्सन प्राप्त गरेका थिए ।आफ्नो बुवाले गरेको मिहेनत र श्रमबाट आफु पनि आर्मी क्षेत्रमै लाग्न प्रेरणा मिलेको अंशुले बताइन् । लण्डन नेपाल न्यूज सँग कुराकानी गर्दै उनले भनिन्, “म सानै देखि बाबाको पेशा देखेर नै प्रेरित थिएँ, र उहाँकै प्रेरणाले यहाँसम्म आइपुगियो, अझ क्याप्टेन हुने पहिलो नेपाली हुन पाएकोमा निकै गर्वको महसुस भएकोे छ।अंशुले इन्जिनीयरीङ्ग समेत अध्ययन गरेकी छन्।

”भूतपूर्व  गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक गुरुङले रचेको नया इतिहासले वेलायत स्थित नेपालीहरुले आफुहरुको शिर उचो भएको बताएका छन् ।

यसैबीच भुम्दिकोट समाज यूकेले एक विज्ञप्ती जारी गर्दै अंशुको सफलताप्रति बधाई ज्ञापन गरेको छ ।उनका पिता अमर गुरुङ भुम्दिकोट समाज यूकेका सदस्य तथा आमा सुकु गुरुङ आमा समुहको अध्यक्ष हुन् । संस्थाका दुई जिम्मेवार व्यक्तिहरुको छोरीले यस प्रकारको उत्कृष्टता पाएको कुरा शेयर गर्न पाउँदा आफुहरु पनि हर्षित भएको संस्थाका अध्यक्ष जुमकाजी गुरुङले बताए ।

बर्न्टओक नेपाली समाजका उपाध्यक्ष एवं तमु धिं लन्डन इकाईका उपाध्यक्ष बिष्णु गुरुङले आफ्नो काकाकी छोरी बेलायती सेनाको क्याप्टेन जस्तो प्रतिष्ठित जिम्मेवारीमा पुग्नु आफुहरु सबैको ठूलो गौरवको विषय भएको बताए । २ सय बर्ष देखिको बेलायत र नेपाल वीचको सम्बन्धमा गोर्खा सैनिकले छुट्टै र विशिष्ट पहिचान कायम गर्न सफल भएकोे छ।