नेपाल चलचित्र कलाकार संघ यूकेले मनायो प्रथम बार्षिकोत्सव

शिब भण्डारी

लण्डन । नेपाल चलचित्र कलाकार संघ यूकेको प्रथम बार्षिकोत्सब सम्पन्न भएको छ । कोभिड १९ महामारीको कारण जमघटमा कार्यक्रम गर्न नसकिने भएको कारण यसपटकको वाषिकोत्सव जुम मार्फत नै सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रविन्द्र खड्काले बेलायतमा नेपाली चलचित्रको विकास र पहिचान स्थापना गर्ने कार्यमा हालको समितिले राम्रो काम गरेको भन्दै सबैलाई बधाई तथा शुभकामना दिए ।

उक्त अवसरमा बोल्दै कार्यक्रमकी अध्यक्ष समेत रहेकी चलचित्र संघ यूकेकी अध्यक्ष रोमियन लिम्बूले परिस्थिती सुधार हुँनासाथ चलचित्र निर्माणमा आफ्नै सिर्जनात्मक कार्यको थालनी हुने भन्दै उनले चलचित्र क्षेत्रमा काम गर्न आस्था राख्ने नयाँ पीढिहरुलाई पनि यस क्षेत्रमा ल्याउने बताइन् ।

कार्यक्रममा संघका सल्लाहकार तथा प्रेस यूनियन यूकेका अध्यक्ष विपीन निरौला, गैर आवासीय नेपाली संघ युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष रविन गुरुङ, काउन्सिलर प्रवेश केसी, नेपाल चलचित्र कलाकार संघ यूकेका उपाध्यक्ष सुरेश राज पाठक, नायक ध्रुव दत्त,गोर्खा मिडियाका बरिष्ठ फोटो पत्रकार मिलन तमू,कोषाध्यक्ष इन्दु लिम्बू, सहकोषाध्यक्ष शान्त कुमार राई, सचिव सिर्जना निङलेखू, सदस्यहरु सन्तोष राई, प्रतिमा दुतराज, प्रतिक दुतराज, मनसुधन थापा मगरको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुरेशराज पाठकले गरेका थिए ।

अध्यक्ष लिम्बूले बेलायतमा चलचित्र संघ भएको भन्ने थाहा हुँदा हुँदै पनि केही समय अघि लण्डन स्थित नेपाली राजदूतावासमा चलचित्र उत्सव भनेर गरिएको कार्यक्रमको विरोध गर्दै दुख प्रकट गरिन् ।

नेपाली चलचित्र र चलचित्रकर्मीहरुको विकास, संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले ३३ बर्षअघि स्थापित नेपाल चलचित्र कलाकार संघ फानको बेलायत शाखा भने गत बर्ष मात्रै स्थापना भएको हो । संघमा अध्यक्षको रुपमा लिम्बू आइसकेपछि बेलायतमा चलचित्र सम्बन्धी गतिविधिहरु मौलाउँदै गएका छन् ।