जनसम्पर्क समिति बेलायतको विवाद आफैं समाधान गर्न नेता पौडेलको सुझाव

लन्डन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनसम्पर्क समिति बेलायतको विवाद आफैं समाधान गर्न सुझाव दिएका छन् ।

नेपाली जनसम्पर्क समिति, बेलायतले सोमबार लन्डनमा आयोजना गरेको कांग्रेस पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको पूण्यतिथि कार्यक्रममा पौडेलले बेलायतवासी नेपालीलाई राजनीतिक खिचातानी भन्दा स्वदेशको आर्थिक समृद्धि, सामाजिक विकास, कृषि क्रान्ति, प्रविधि र अनुभव हस्तान्तरणतर्फ सोच्न एवं पर्यटन तथा जलश्रोतमा लगानी गर्न आग्रह गरे ।

पौडेलले मंसिरभित्र तीनवटा चुनाव गर्नुपर्नेमा अहिलेसम्म एउटै टुंगो नलागेको बताए । ‘मधेसी मोर्चा संशोधन नगरि निर्वाचनमा भाग लिन्नौं भन्ने, एमाले संशोधन गर्नै नमान्ने अनि प्रधानमन्त्री प्रचण्ड मधेसीले नमानेसम्म म चुनाव घोषणा गर्दिनभन्ने अनि कसरी हुन्छ चुनाव,’ उनको प्रश्न थियो ।

नेपालको राजनीति अहिले माखेसाङलोमा अड्किएको बताउँदै नेता पौडेलले गुटबन्दीमा राजनीति गर्ने जमात कांग्रेसभित्रै पनि बढेको बताए । उनले भने, ‘कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेकाले ति खलपात्रलाई चिन्न जरुरी छ ।’

देशमा संघीयता, समावेशीता, गणतन्त्र र लोकतन्त्र जस्ता मुख्य उपलब्धिभइसकेपछि सानातिना बखेडा झिकेर झगडा मात्र नगर्न उनको आग्रह थियो ।

जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, डा. कपिल रिजाल, योगेन क्षेत्री, डा. पुरुषोत्तम पौडेल, विनोद मोक्तान, शिवजी श्रेष्ठ, विजन भटट्, केशबहादुर गुरुङ, शेर सुनार, राजकुमार त्रिपाठी, युवराज गुरुङ, डा. मिन रानाभाट लगायत दर्जन बढि वक्ताले बोलेका थिए ।