काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कुनै एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी दिएपछि सत्तारुढ नेकपाका कार्यकारी अध्यक्षसहित बहुमत सचिवालय सदस्यहरु अबको विकल्पबारे अल्यौलमा परेका छन् ।
तर उनीहरुले आफूहरुले पार्टी जोगाउन धैर्यता राखिरहेको भन्दै यसलाई कमजोरी नठान्न ओली समूहलाई चेतावनी दिएका छन् । पार्टीमा गहिरिएको संकट समाधानका लागि सचिवालय बैठक डाक्न लिखित पत्र बुझाउँदा समेत ओलीले त्यसमा सहमति नदिएपछि आज कार्यकारी अध्यक्ष प्रचण्ड फेरि बालुवाटार पसेका थिए ।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बैठक राखेर आफूविरुद्ध एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी दिएपछि प्रचण्ड आधाघण्टामै त्यहाँबाट फकिए ।
बैठकमा ओलीलाई प्रचण्डले कार्तिक २७ गते बैठक राख्नका लागि सहमति जनाउन र उक्त बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । तर उक्त प्रस्तावमा ओलीले सहमति नदिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बालुवाटारमा आफूविरुद्ध एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी बुझेपछि प्रचण्ड–नेपाल समूहका बहुमत पाँच सचिवालय सदस्यहरुको धुम्बाहारीमा अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकपछि संवाददाताहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा सहमति जनाउन प्रचण्डले गरेको आग्रह अर्का अध्यक्ष ओलीले फेरि पनि अस्वीकार गरेको जानकारी दिएका हुन् ।
त्यसो भए अब तपाईँहरुको बाटो के त भन्ने संवाददाताहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले बैठक बसेन भने के गर्ने भनेर अहिले पनि आफूहरुले सोच्न नचाहेको बताए । तर आफूहरुले पार्टीलाई जोगाउन खेलिरहेको भूमिकालाई कमजोरी नठान्न उनको चेतावनी छ ।






