कांग्रेस भित्रको द्वन्द्व सल्टियो, देउवा र पौडेलले गरे यस्तो सहमति

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा लामो समयदेखिको विवाद समाधान हुने देखिएको छ । सभापति शेर बहादुर देउवाले गरेका विभिन्न कार्यशैलीमा असन्तुष्टि व्यक्त गर्दै बरिष्ठ नेता रामचन्द पौडेलले राखेका विभिन्न मागहरुमा सहमति जुटेसँगै विवाद टुँगो लागेको बताइएको छ ।
पौडेल पक्षले राखेका मागहरुको सम्बोधन गर्न ५ दिन देखी छलफल चलेको थियो । सहमति भएपछि पौडेलले देउवाको प्रशंसा गर्दै कम्तीमा केपी ओली जस्तो नभएको बताएका थिए ।
पौडेलनिकट केन्द्रीय सदस्य चन्द्र भण्डारीले दुई पक्षविच सहमति गरेर महाधिवेशनलाई निष्पक्ष रूपमा अघि बढाउने सल्लाह भएको जानकारी दिए ।
पदाधिकारी, पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्यबीच एक सातादेखि अनौपचारिक छलफल चल्दै आएको थियो। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पछिल्ला तीन दिन लगातार छलफल भएको थियो। त्यही छलफलका आधारमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेस गर्ने सहमति भएको छ।

‘महामन्त्री शशांक कोइरालाले सभापति र वरिष्ठ नेतासँग समन्वय गरेर अहिले उठेका सबै विषयमा प्रस्ताव ल्याउने र केन्द्रीय कार्यसमिति बैठक बसेर छलफल गरिने भएको भण्डारीले बताए ।

वरिष्ठ नेता पौडेल समूहले २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित असोज १२ गते केन्द्रीय कार्यालयमा नेतृत्वले विधानविपरीत निर्णय गरेको भन्दै १६ बुँदे विरोधपत्र बुझाएको थियो। केन्द्रीय कार्यसमिति बैठकअघि नै आफ्ना मागको सम्बोधन गर्नुपर्ने दबाब पौडेल समूहको थियो।
दुई नेताहरु विच भएको यो सहमति सँगै नेताहरु अब महाधिवेशन केन्दित गतिविधिमा अघि बढ्ने विश्वास लिइएको नेताहरुले बताएका छन् ।
यो सँगै पौडेल समूहले क्रियाशील सदस्यता वितरण र विभाग गठनमा जनाउदै आएकोे असन्तुष्टि पनि दूर भएको जनाइएको छ ।

उक्त बैठकमा कांग्रेस नेताबीच फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने गरी तोकिएको १४ औं महाधिवेशनको कार्यतालिकाबारे पनि बैठकमा छलफल भएको थियो। कोरोना संक्रमणका कारण कार्यतालिका अनुसार काम नभएकाले तोकिएको मितिमा महाधिवेशन गर्न नसकिनेमा सबै शीर्ष नेता एकमत देखिएका छन्। तर, नयाँ मिति तोक्नुअघि क्रियाशील सदस्यतालाई चाँडो टुंगो लगाउने समझदारी भएको छ।
सोही बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिका संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य रमेश लेखक दिएको छ ।