बाध्यता परेपछि एनसेल कर तिर्ने निर्णयमा

ncellकाठमाडौं- पुँजीगत लाभकर तिर्नुनपर्ने अडानमा रहेको एनसेलले कर तिर्ने संकेत देखिएको छ ।

सम्बद्ध स्रोतका अनुसार कर उन्मुक्ति दिलाउने जिम्मा लिएका पदाधिकारीले नै उन्मुक्ति दिने अवस्था नरहेको भनेर हात उठाएपछिु एनसेलको नयाँ व्यवस्थापन नरम भएको हो । ठूला करदाता कार्यालयले लाभमा तिर्नुपर्ने २५ प्रतिशतमध्ये १५ प्रतिशत अग्रिम करकट्टी (टीडीएस) दाखिला गर्न दिएको समय आइतबार सकिँदैछ ।

बुधबार काठमाडौं आएका एक्जियटाका प्रेसिडेन्टरसीईओ जमालुद्दिन इब्राहिमले उच्चपदस्थ पदाधिकारीसँग भेटेर सल्लाह गरेका थिए । कर उन्मुक्ति दिने अवस्था नरहेको बताइएपछि उनले कर दाखिला गर्न थप समय माग गरेका थिए । यसअघि एनसेलको व्यवस्थापनले पनि पूर्वलगानीकर्ता टेलियासँग सल्लाह गर्नुपर्ने भन्दै ठूला करदाता कार्यालयसँग थप समय माग गरेको थियो ।

कार्यालयले कानुनले त्यस्तो सुविधा नदिएको भन्दै माग अस्वीकार गरेको थियो । यस्तै एनसेलका नवनियुक्त प्रबन्धनिर्देशक सिमोन पार्किन्सले पनि पुँजीगत लाभकरको विवाद चाँडै समाधान गर्ने कुरा शुक्रबार थोरै सञ्चारकर्मीलाई बोलाएर भनेका छन् ।