प्रधानमन्त्री कोइराला जकार्तामा

जकार्ता, ८ वैशाख । प्रधानमन्त्री सुशील कोइराला जकार्ता र वाङ्डुङ सहरमा आयोजना हुने ६०औँ एसियाली–अफ्रिकी सम्मेलन तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को वार्षिकोत्सवमा सहभागी हुन आज अपराह्न यहाँ आइपुग्नुभयो । आज बिहान थाइल्याण्डको राजधानी बैंककबाट जकार्ता आइपुग्नुभएका प्रधानमन्त्री कोइरालालाई सुकार्नाेहत्त अन्तर्राष्ट्रिय विमानस्थलमा इन्डोनेसियाका अनुसन्धान प्रविधि तथा शिक्षा मन्त्री प्राडा एच मोहम्मद नासिर तथा इन्डोनेसियाका लागि बङ्गलादेशका राजदूत आइवान डब्लु एटमाडोजाले स्वागत गर्नुभएको थियो । साथै सडकका दायाँबायाँ रहेका इन्डोनेसियाली जनताले प्रधानमन्त्री कोइरालाको भव्य स्वागत अभिवादन गरेका थिए ।
एसियाली–अफ्रिकी सम्मेलनको संस्थापक नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कोइराला ६०आ सम्मेलनमा भाग लिन यहाँ आइपुग्नुभएको हो । पञ्चशील र असंलग्न आन्दोलनका पक्षपाती रहेको नेपालका लागि यो सम्मेलनले ठूलो महत्व राख्दछ ।
प्रधानमन्त्री कोइरालालाई परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कामु परराष्ट्र सचिव शङ्करदास बैरागी, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल एवम् नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालालाई सुकार्नाहत्त विमानस्थलदेखि उहाँ रहनुहने फेयरमन्ट होटलसम्म राष्ट्रिय सम्मानका साथ लगिएको थियो । अहिले जकार्ता सहर दुलही झैँ सिगारिएको छ । मूल सडकका बायाँ इन्डोनेसियाको झन्डा फहराइएको छ ।
“विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सवलीकरण” भन्ने नाराका साथ नास्पको दुई दिने शिखर सम्मेलन जकार्तामा भोलिबाट सुरु हुँदै छ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोत्सव वाङ्डुङ सहरमा वैशाख ११ गते आयोजना हुनेछ । पहिलो सम्मेलन सन् १९५५ मा इन्डोनेसियाको वाङ्डुङ सहरमा भएको थियो भने सन् २००५ को अप्रिल २२–२४ मा आयोजना भएको एसिया अफ्रिकी सम्मेलनको ५०औँ स्मृतिसभाले नास्प सिर्जना गरेको थियो ।
प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र सल्लाहकार दिनेश भट्टराई, प्रधानमन्त्री कोइरालाका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, निजी चिकित्सक प्राडा कविरनाथ योगी, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत हुनुहुन्छ ।