तक्दीर अधिकारी
सिड्नी । प्रेकन काउन्सिलिङ सर्भिसले सिड्नीमा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । सरिहिल्समा रहेको होटल रिजेजमा आयोजना हुने उक्त कार्यक्रममा अस्ट्रेलियामा रहेका तीन दर्जनभन्दा बढी सफल नेपाली उद्यमी र व्यवसायीको सहभागी रहनेछ । कार्यशाला गोष्ठी ३ जनवरी शुक्रबार आयोजना हुनेछ । कार्यशाला गोष्ठीमा व्यवसायिक क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव बटुलेका कुशल व्यवस्थापक सनत न्यौपानेले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।
कार्यक्रम संयोजक प्रमोद न्यौपानेका अनुसार हस्पिटालिटी, नागरिक उड्डयन, पुननिर्माण, अटोमोबाइल, सञ्चार र विकासका क्षेत्रहरू कार्यशाला गोष्ठीमा छलफल हुनेछ । अस्ट्रेलिया विकसित देश हो, नेपालबाट प्रत्येक वर्ष नयाँ विद्यार्थी आउनेक्रम वृद्धि भइरहेको छ । यहाँ आएका युवाहरुलाई व्यवसायिक क्षेत्रमा जागरुक गराउन यो कार्यशाला गोष्ठी उपयोगी हुने कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिए । उनले भने, ‘सिड्नीमा नेपाली उद्यमी व्यवसायीहरु दिनप्रति दिन बढ्दै गयेका छन् । उनीहरुको व्यवसाय र उद्यमीशीलता अझ निर्खान यो कार्यशाला अझ उपयोगी हुनेछ । विशेषतः युवाहरुलाई यस क्षेत्रमा आकर्षित गर्न यो कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।’ अस्ट्रेलियामा बसेर केही गर्न खोज्नेहरुका लागि यो कार्यशाला आयोजना गरिएको हो, प्रेकनका प्रमोद न्यौपानेले भने, ‘नयाँ र ऊर्जावान उद्यमीका लागि यो कार्यशाल उपयोगी हुनेछ ।’
कार्यशाला गोष्ठीमा ग्लाम नेपाल इन्टरनेशनलका संस्थापक दिपक ज्ञवाली, इनोभेटिभ एसोसियट्सका प्रमुख डिला खरेल, गाइडेन्स एजुकेशन एन्ड भिसा सर्भिसेसका निराजन थापा, एडिज किचन सिड्नीका अमित आचार्य, आरएनओको डाइरेक्टर खण्डाकार सलिनलगायत लगानी र व्यवसायिक क्षेत्रमा नेतृत्व सम्हालेका व्यक्तिहरु सहभागी हुने न्यौपानेले बताए ।
विजनेश तथा व्यवसायलाई प्रभावकारी बनाउने रणनीति, विजनेश योजना र व्यवसायलाई दीगो बनाउने टुल्सहरु प्रदान गरिने भएकाले कार्यशाला गोष्ठीमा सहभागी हुन न्यौपानेले अनुरोध गरे ।







