एनआरएनए यूकेको ४ करोड काण्ड ब्युंतियो

लन्डन । कोभिड १९ महामारीले सेलाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको झण्डै चार करोड रुपैयां घोटाला भनिएको काण्ड फेरि ब्युंतिएको छ ।

करिब ६ महिनापछि आइतबार लन्डनमा बसेको संघको कार्यसमिति बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा संघका निवर्तमान अध्यक्ष योगकुमार फगामी कार्यसमितिले झन्डै चार करोड रुपैयाँको हिसाबकिताब गोलमाल भएको भन्ने मुद्दाले प्राथमिकता पाएको हो । बैठकमा आर्थिक अनियमितता छानबिन गर्न बनाइएको समितिबारे भने मतमतान्तर भएको छ ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले छानविन समितिमा प्रस्ताव गरेका नाममा दुई उपाध्यक्षले फरक मत राखेका छन् । अध्यक्ष गुरुङले लेखनाथ पाण्डेको संयोजकत्वमा सदस्यहरु बुद्धि गुरुङ, अध्यक्ष आफैं, तेजेन्द्र रोकामगर र डा. मुकुन्द बास्तोला सम्मिलित एक छानविन समिति बनाउने प्रस्ताव गरेकी थिइन् । तर, उपाध्यक्षद्वय प्रेम गाहामगर र नारायण कंडेलले उक्त समिति विधान विपरित भन्दै फरक मत राखे ।
कार्यसमितिमा सल्लाह नै नगरी विधानविपरीत केही व्यक्तिहरुको नामावली प्रस्तुत गरेको उपाध्यक्षद्वयको आरोप छ । उपाध्यक्ष गाहामगर विधानअनुसार लेखा समितिलाई नै छानविन गर्न दिनुपर्ने बताउंछन् ।एनआरएनए यूके इतिहासमा अघिल्लो कार्यसमितिले गरेको आर्थिक अनियमितता सबैभन्दा विवादित बनेको छ ।

यसै बीच एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा आइतबार “सारस रेस्टुरेन्ट” ह्यारो,मा सम्पन्न कार्यसमिति र आइसीसी सदस्य लगायतको बैठकले विभिन्न समिति गठन गरेको छ ।संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार बैठकले  त्रैमासिक रुपमा आर्थिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।संघलाई च्यारिटीमा दर्ता गर्ने सम्बन्धमा उपाध्यक्ष सुनिलबाबु खडकाले संयोजन गर्ने गरि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । त्यसैगरि, संघसंस्था प्रतिनिधि बैठक (काउन्सिल बैठक) समन्वय गर्ने जिम्मेवारी उपाध्यक्ष रोजिनाप्रधान राईलाई दिइएको छ । तर, उक्त बैठक परिस्थिति सहज भएपछि हुनेछ ।

साथै बैठकले अल्डरसटमा बन्न लागेको पहिलो गोर्खा भिसीको सालिक स्थापनार्थ सहयोग गर्न उपाध्यक्ष सुनिल खड्कालाई सहयोग संकलन गर्ने जिम्मा दिइएको छ ।

बैठकले विधान संशोधन समिति पनि गठन गरेको छ । उक्त समितिमा नारायण कंडेल 
संयोजक र सदस्यहरु सरस्वती केसी, डा. रामकुमार अधिकारी, रामशरण सिम्खडा, दयानिधि सापकोटा, महेश गुरुङ एवं सदस्य सचिवमा नारायण गाउंलेको नाम प्रस्तावसहित अनुमोदन गरिएको छ।उता, बैठकले अनुशासन समिति गठन गरेको छ । जुन समितिको संयोजकमा संघका संरक्षक एवं पूर्व अध्यक्ष महेन्द्र कंडेल सहित ५ सदस्य रहनेछन् ।

बैठकले विधानमा प्रावधान भए अनुसार ५ सदस्यीय लेखा समिति समेत गठन गरेको महासचिव भट्टराईले जानकारी दिए । समितिमा कोषाध्यक्ष तेजेन्द्र रोकामगर, शेरबहादुर सुनार, एलएन घिमिरे, दीपक गुरुङ र शर्मिला हिराचन थकाली छन् ।बैठकले गत कार्यकालको आर्थिक प्रतिवेदनमाथि जांचबुझ गर्न एउटा समिति पनि गठन गरेको छ । गत जनवरी १९ को कार्यसमिति बैठकको निर्णय समेतलाई आधार मान्दै स्वतन्त्र जांचबुझ समिति गठन 
गर्ने निर्णय भएको संघले जनाएको छ ।

उक्त समिति एलएन पाण्डे, बुद्धि गुरुङ र डा. मुकुन्द बास्तोला गरि तीन सदस्यीय छ । उक्त समितिले ४ साताभित्र जांचबुझ प्रतिवेदन कार्यसमितिसमक्ष प्रस्तुत गर्ने गरि समयसीमा निर्धारण गरिएको छ।बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोकामगरले आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए ।