लन्डन । धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेला भव्य रुपले सम्पन्न भएको छ । बेलायतमा बसोबास गर्दै आएका धादिङ र नुवाकोटवासी नेपालीहरुको संस्था धादिङ नुवाकोट समाज यूकेले शनिबार फुटबल प्रतियोगिता सहित समर भेटघाट कार्यक्रम गरेको हो ।
समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा गैरआवासीय नेपाली संघ एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरप्रमुख अतिथी थिए । प्रमुख अतिथी गाहा मगर र अध्यक्ष तामाङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । दुवै देशको राष्ट्रियगान सहित सुरु गरिएको कार्यक्रममा समाजका दिवङ्गत आफन्त परिवारजन प्रति श्रद्धाञ्जली अर्पण गरे।
समाजका महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा पुनम गुरुङले स्वागत मन्तव्य र कल्चरल सेक्रेटरी कृष्ण पाख्रिन तथा मनु तामाङले दोश्रो चरणमा राष्ट्रिय भावको गीत प्रस्तुत गर्दै कार्यक्रम सञ्चालन गरेका थिए।
प्रमुख अतिथि प्रेम गाहा मगरले धादिङ–नुवाकोट समाज यूकेले आयोजना गरेको कार्यक्रमको सफलताको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तरता पाउनुप र्नेमा जोड दिएका थिए। उनले समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचान जोगाइराख्न यस्ता भेटघाट कार्यक्रमहरू महत्वपूर्ण हुने उल्लेख गर्दै आयोजक टिमलाई शुभकामना व्यक्त गरेका थिए। उनले युवा पुस्तालाई नेतृत्वमा अगाडि ल्याउन र सामुदायिक संस्थालाई अझ सशक्त बनाउन आग्रह गर्दै यस्ता भेटघाट तथा खेलकुद कार्यक्रमले आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथि पूर्व कानुन तथा न्याय संसदीय मामिला राज्य मन्त्री दिलमान पाख्रिन तामाङले नेपाली समुदायको एकता, पहिचान र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
उनले विदेशमा बसेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्दै अगाडि बढ्नु आजको आवश्यकता भएको उल्लेख गर्दै धादिङ–नुवाकोट समाज यूकेले खेलेको भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा उच्चशिक्षा हासिल गरेका विद्यार्थी, समाजका आजीवन सदस्यहरु, नेपालबाट आएका राष्ट्रिय कलाकार तथा विजेता फुटबल खेलाडीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
सुरुमा आसन, भाषण र सम्मानपछि दोश्रो चरणमा राष्ट्रिय कलाकारहरु ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का विजेता प्रोसेस पाण्डे हास्य कलाकार शैलेन्द्र सिम्खडा तथा लोकगायिका शोभा त्रिपाठी तथा गायक कुमार योञ्जनको सांगीतिक प्रस्तुतिमा सहभागी मज्जाले झुमे।
प्रोसेस पाण्डेले कार्यक्रममा अत्यन्तै भावुक हुँदै आफ्नो जीवनका संघर्ष र सपनाबारे खुलासा गरेका छन्।उनले “म पनि संसारलाई आफ्नै तरिकाले महसुस गर्न चाहन्छु” भन्दै आफ्नो यात्रामा साथ र सहयोगको अपेक्षा व्यक्त गरे।उनको भावुक अभिव्यक्तिले उपस्थित दर्शकहरूलाई गहिरो रूपमा छोएको थियो भने कार्यक्रममा केही समय भावनात्मक माहोल सिर्जना भएको थियो।
नेपालबाट आमन्त्रित कलाकार प्रोसेस पाण्डे,लोकगायिका शोभा त्रिपाठी,गायक कुमार योञ्जनले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरे भने हास्य कलाकार शैलेन्द्र सिम्खडाको प्रभावशाली प्रस्तुति कार्यक्रमको अर्को आकर्षण बनेको थियो।


अध्यक्ष धनबहादुर तामाङले कार्यक्रमका सहभागी, प्रायोजक, कलाकार, खेलाडी लगायत कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यसमितिसहित सबैलाई धन्यवाद दिएका थिए ।समाजका अध्यक्ष तामाङले नब निबाचित अध्यक्ष बुद्धिबहादुर तामाङलाई हार्दिक बधाई दिदै समाजको प्रगति प्रति खुसी व्यक्त गर्दै युवा पुस्तालाई नेतृत्वमा थप सक्रिय रूपमा सहभागी गराउँदै संस्थालाई अझ उचाइमा पुर्याउन आग्रह गरे।
२०२६ को धादिङ नुवाकोट (डीएनएस) फुटबल कपमा १० टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा।
फाइनलमा नोर्थोल्ट एफसीले हेज एफसीलाई ३–० ले पराजित गर्दै उपाधि ले जितेको छ । शनिबार लन्डन फेल्थम कम्युनिटी कलेज मैदानमा आयोजित प्रतियोगितामा प्रथम भएर नोर्थोल्ट एफसीले गोल्ड मेडलसहित प्रमाणपत्र जित्यो भने फेल्थम एफसी रनर अप भयो ।
विजेता टिमलाई धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङ,गैरआवासीय नेपाली संघ एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहा मगर एबम महासचिव जुरेन्द्र खजुमले मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका थिए । युवालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्ने लक्ष्यसहित फुटबल प्रतियोगिता शुरु गरिएको अध्यक्ष तामाङले बताए ।
लन्डन फेल्थमस्थित कम्युनिटी कलेजको मैदानमा भएको ‘डीएनएस कप फुटबल प्रतियोगिता २०२६’ प्रतियोगिताका संयोजक थमु वाइबाका अनुसार खेलकुदमार्फत युवा पुस्तालाई जोड्ने तथा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन हुदै आएको लण्डन नेपालन्यूज लाई बताए।






