बेलायतमा २ करोड ४० लाखले लगाए कोभिड खोप, ५० बर्ष माथिका मानिसहरूलाई खोप दिन शुरू

लण्डन । बेलायतमा ५० बर्षभन्दा माथिका नागरिकहरूलाई कोभिडविरुद्धको खोप दिन शुरू गरिएको छ । जसको लागि सरकारले आवेदन माग गरेको छ ।

यो प्राथमिकता सूचीमा अन्तिम समूह हो, जसले कोभिड १९ बाट जोखिममा परेका ९९ प्रतिशत मानिसहरु कभर गर्दछ । बेलायतले चरणबद्ध रूपमा ९ वटा प्राथमिकता छनौट गरी कोभिडको खोप दिन शुरू गरेको थियो ।

शीर्ष नौ प्राथमिकता समूहहरूमा सबैलाई जुलाई मध्यसम्म खोपको दोस्रो मात्रा दिइसकिने बताइएको छ । पहिलो डोज लगाएको १२ हप्तापछि दोस्रो डोज लगाउने गरिन्छ ।

हाल बेलायतमा २ करोड ४० लाख भन्दा बढी मानिसहरुले कोभिडविरुद्धको खोप लगाएका छन् जसमा १६ लाख मानिसले दोस्रो डोज समेत लिइसकेका छन् । त्यस्तै बेलायतका केही भागहरुमा दोस्रो डोज पनि दिन थालिसकिएको छ ।

उत्तरी आयरल्याण्ड र स्कटल्याण्डको केहि क्षेत्रहरुमा यस अघि नै ५० बर्ष भन्दा माथिका मानिसहरुलाई खोप दिन शुरू भइसकेको बीबीसीले जनाएको छ । हालसम्म इंग्ल्याण्डमा २ करोड १० लाख भन्दा बढी मानिसले खोप लगाइसकेका छन् । त्यसैगरी स्कटल्याण्डमा करिब २० लाख, वेल्समा १० लाख बढी, तथा नर्दन आयरल्याण्डमा ६ लाख ५० हजार भन्दा धेरै मानिसहरुले कोभिड खोपको पहिलो डोज लिइसकेको जनाइएको छ ।

यस साता ४० लाख भन्दा धेरै मानिसहरुले खोप लगाउन सक्ने अनुमान गरिएको छ । उक्त संख्या हालसम्म लगाइएको व्यक्तिहरुको संख्याले करिब दोब्बर हो । त्यस्तै अप्रिलको अन्त्यसम्ममा ५० बर्ष माथिका सबैले खोप पाइसक्ने अनुमान गरिएको छ ।