पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिका निर्यात

lapsiफलेवास (पर्वत)- पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ ।

जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लैजानुभएको हो ।

लप्सीको ३०० किलो क्यान्डी, ३०० किलो अचार र २० किलो ग्रिनबिन कफी हिमाल गार्मेन्टलाई पठाएको हो । गार्मेन्टका तर्फबाट आएका क्रिगले उद्योगमा करिब एक महिना बसेर त्यसको गुणस्तर परीक्षणपछि उत्कृष्ट ठहर गर्दै आफ्नो कम्पनीका लागि लैजाने सम्झौता गर्नुभएको हो ।

कम्पनीले क्यान्डी प्रतिकिलो रु २५०, अचार रु २८० र ग्रिनबिन कफी रु ८०० किलोमा बिक्री गरेको उद्योग सञ्चालक थानेश्वर भुसालले बताउनुभयो ।

विसं २०५८ मा स्थानीय स्रोतसाधनबाट सुरु भएको उद्योगले वैधानिक प्रक्रिया पूरा गर्दै उत्पादन अमेरिकासम्म पु¥याउन सक्नु ठूलो उपलब्धिका रूपमा लिएको उहाँको भनाइ छ । सुरुका चरणमा वैधानिकता पाउन मात्रै निकै सङ्घर्ष गर्नुपरेको तर निरन्तर लागिपरेपछि अब बल्ल आफ्नो उत्पादनले पनि विदेशको बजार पाउने आस बढाएको उहाँले उल्लेख गर्नु भयो ।