
चितवन- पूर्वी चितवनका तीन जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् ।
कालिका नगरपालिका–६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ बेपत्ता भएको परिवारले जनाएका छन् ।
स्थानीय सिद्धी विनायक आवासीय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी विद्यालय जान भनी घरबाट हिँडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुबा विवेक लामिछानेले जानकारी दिनुभयो ।
शुक्रबार घरबाट केही रकमसमेत लिएर स्कुल जाने भन्दै गएका उनीहरुको खोजी कार्य भइरहेको भए पनि फेला पार्न नसकिएको परिवारजनले बताएका छन् ।






