प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसीर पहिलो साता भित्र, आयोगका पदाधिकारीले भेटे प्रधानमन्त्री

काठमाडौं– निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसीर पहिलो साता भित्र गरिसक्ने कार्ययोजना बनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी निर्वाचन आयोगका पदाधिकारीहरुले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको कार्ययोजनाबारे जानकारी गराएको हो ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक पर्ने कानून असार मसान्त भित्र र प्रदेश सभा तथा प्रतिनिधि सभाको क्षेत्र निर्धारणको काम आगामी श्रावण १५ गते भित्र उपलब्ध गराउन पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेको थियो ।

मंसीर पहिलो साता भित्र प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने कार्ययोजना समेत प्रधानमन्त्री देउवालाई जानकारी गराइएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए ।
आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते गर्नेछ । आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बाध्यता भएपछि आयोगले मंसीर पहिलो साता भित्रै सक्ने गरी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको कार्ययोजना पनि बनाएको हो ।

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई सम्पन्न गराउन आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरेको भन्दै प्रधानमन्त्री देउवाप्रति आभार पनि व्यक्त गरेको छ । प्रधानमन्त्री देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह दोस्रो चरणको निर्वाचनको जारी मतगणनाको पछिल्लो प्रगतिबारे समेत जानकारी गराएका थिए ।
निर्वाचनको मतगणनाको पछिल्लो प्रगति विवरण समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।
दोस्रो चरणमा ३ सय ३४ वटा स्थानीय तहको निर्वाचन बुधबार उत्साहका साथ सम्पन्न भएको थियो । निर्वाचन आयोगले सबै तहको मतगणनाको परिणाम एक हप्ता भित्र सम्पन्न गरिसक्न पनि सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ । स्थानीय तह पहिलो चरणको निर्वाचन गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।