कांग्रेसले अमरेशलाई कारबाही गर्ने

काठमाडौं, १७ साउन । मुलुक विखण्डनको वकालत गरिरहेका नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्न पार्टी संसदीय दल र केन्द्रीय सदस्यहरूबीचबाटै आवाज उठेको छ । कांग्रेस केन्द्रीय सदस्य र संसदीय दलको बैठकका सदस्यहरूले अमरेशलाई तत्काल पार्टीभित्रबाट कारबाही गर्नुपर्ने माग गरेका हुन् । त्यस्तै, पार्टीको धर्मनिरपेक्षताको आधिकारिक लाइनविपरीत हिन्दु राष्ट्रका लागि राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई बैठकमा नबोलाएर पार्टी सभापति तथा प्रधानमन्त्रीले उनीप्रति आफ्नो अप्रसन्नता व्यक्त गरेका छन् ।
एक साताअघिमात्र गोरक्षनाथ पीठ (गोरखपुर) का प्रमुख तथा भारतका लोकसभा सदस्य महन्थ आदित्यनाथको उपस्थितिमा खड्काले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको खुलेर आलोचना गर्दै नेपाललाई तत्काल हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग सार्वजनिक रूपमै राखेका थिए ।