विराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतान्त्रिक विधिमा आधारित पार्टीको विधान बन्ने जानकारी गराउनुभएको छ ।
आइतबारदेखि तीन दिनसम्म विराटनगरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा भएको पत्रकार भेटघाटको कार्यक्रममा उहाँले बन्दसत्रमा विधान पारित हुने र पार्टीको नाम परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो ।
उहाँले यस प्रथम महाधिवेशनमा मुलुकको हिमाल, पहाड र तराईका समेत गरी दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता रहने जानकारी गराउनुभयो ।
उहाँले भारतबाट भारतीय राष्ट्रिय काँग्रेस, भारतीय जनता पार्टी, जनता दल (युनाइटेड) बहुजन समाजवादी पार्टी, झारखण्ड पार्टीका वरिष्ठ नेता पनि सहभागी हुने निश्चित भइसकेको बताउनुभयो ।
पार्टी अध्यक्ष पदमा प्रतिस्पर्धाको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले लोकतान्त्रिक विधिअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको स्पष्ट पार्दै पार्टी अध्यक्ष गच्छदारले सर्वसम्मत निर्णय हुने विषयमा आफू विश्वस्त रहेको जानकारी गराउनुभयो ।
पार्टीले समावेशी सिद्धान्त स्वीकार गरेको भन्दै उहाँले महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितता हुने र पहाडी समुदायका लागि विशेष व्यवस्था गरिने जानकारी गराउनुभयो ।
सोही अवसरमा पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले प्रथम महाधिवेशनको समष्टिगत रुपमा तयारी पूरा भइसकेको बताउनुभयो ।
महाधिवेशनमा आउने पाहुनाका साथै पार्टी प्रतिनिधिको आवास, भोजन, यातायातलगायतका व्यवस्था पूरा भइसकेको र व्यापकरुपमा स्वयम्सेवक परिचालनसमेत हुने बताउनुभयो ।






