धुलिखेल- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौँ ।” उहाँले छिट्टै पार्टी एकता हुने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले ७० वर्षदेखि देशमा विकासको लहर ल्याउन नसकिएको बताउँदै अब वाम सरकारले नयाँ योजनाका साथ आर्थिक समृद्धिसहितको कामलाई अगाडि बढाउने छ भन्नुभयो ।
अध्यक्ष दाहालले काभे्रका १३ वटै स्थानीय तह अब ‘विकट’ नहुने उल्लेख गर्दै वाम गठबन्धनको नयाँ सरकार बनेलगत्तै जिल्लाका दुई गाउँपालिका महाभारत र खानीखोलालाई सडक सञ्जालसँग जोड्न र सामुदायिक अस्पताल व्यवस्था गर्न पहल गरिने बताउनुभयो । “म आज हुने वाम एकता संयोजन समितिको बैठकमा समेत सो कुरालाई छलफल गरेर योजना बनाउनेछु”, उहाँले भन्नुभयो ।






