नूर तिमी बेग्लै देशको, राजा रहिछ थाहा भयो ।
आफ्नो भन्ने भ्रम टुट्नु, आज रहिछ थाहा भयो ।।
टाढैबाट देखेको फुल, शीशा रहिछ थाहा भयो।
रगताम्मे चोट लाग्दा, बिष रहिछ थाहा भयो ।।
अजम्बरि माया हाम्रो, झुठो रहिछ थाहा भयो ।
पवित्र छ प्रेम भन्थेँ, जुठो रहिछ थाहा भयो ।।
पर्खि बसेँ तिम्ले डुङ्गा, तरेपछि थाहा भयो ।
भोकमा खा’को गासमा ढुङ्गा, परेपछि थाहा भयो ।।
***
खिया लाग्ने फलामलाई, सुन देखेँ भुल भयो ।
अमावसको पुछ्रेतारा, जुन देखेँ भुल भयो ।।
सपनाको प्रित आफ्नै, मानि पर्यो भुल भयो ।
खेल पनि साँचै खेल्ने, बानी पर्यो भुल भयो ।।
सञ्जीवनी यार्सा भनी, किरा पालेँ भुल भयो ।
समुन्द्रको मोती टिप्न, हिरा फालें भुल भयो ।।
पहराको पलाँसलाई, फूल देखेँ भुल भयो ।
चारैतिर बन्द बाटो, मूल देखेँ भुल भयो ।।
***
प्रेममा त गुङ्गा पनि, बोल्दो रहिछ थाहा भयो ।
नबालेको आगोले नि, पोल्दो रहिछ थाहा भयो ।।
प्राणको यो प्रिय नाता, मर्यो अब थाहा भयो ।
मलाई दिने माया अन्तै,सर्यो अब थाहा भयो ।।
फूलै फूलमा रमाऊ तिमी, जून सँग खेली।
औशिको रात मइ लिन्छु, भए नि खेल झ्यली।।
फुलोस फलोस तिम्रो जीवन, उमङ्गले भरोस ।
सुखी रहु सँधै भरि, दुःख मइलाई परोस् ।।
सुखी रहू सँधै भरि, दुःख मइलाई परोस् ।।
– समाजसेवी तथा सामाजिक अभियन्ता कल्पना त्रिपाठी ,गैर आवासीय नेपाली संघ बेलायत सल्लाहकार -तथा डाइरेक्टर – अक्स् ब्रिज इन्टरनेशनल कलेज नेपाल र लण्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीमा महासचिव समेत हुन् ।






