सिंहदरवारभित्रै महिला शाखा अधिकृतको ल्यापटप चोरी

काठमाडौं- सिंहदरवारभित्र रहेका सरकारी कार्यालय असुरक्षित हुन थालेका छन् । कार्यालयभित्र राखिएको ल्यापटप, आइफोनलगायतका सामग्रीहरू चोरी हुन थालेपछि कार्यालय असुरक्षित हुन थालेका हुन । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चोरी भएको छ । मन्त्रालयका शाखा अधिकृत सुुस्मा श्रेष्ठको ल्यापटप चोरी भएको हो । उनले आफनो ल्यापटप चोरी भएको भन्दै पहरा गण सिंहदरवारमा उजुरी दिएकी छन् ।

मंगलबार दिउँसो सिंहदरवार प्रवेश गर्ने मुख्य गेटमा सुरक्षा जाँच कडा पारिएको थियो । सुरक्षाकर्मीहरूले गेटमा ल्यापटप बोक्नेहरूलाई चेक गर्ने गरेका थिए । यसअघि गत साउनमा स्थानीय विकास मन्त्रालयका उपसचिवको कार्यकक्षबाटै आइफोन, ल्यापटपका साथै १ लाख नगद चोरी भएको थियो । त्यो सामान अहिलेसम्म कसले चोरी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।