सांसद हृदेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेजीको माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सासद त्रिपाठीले किसानको पक्षमा नभई विचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको दाबी गर्दै खारेजीको माग गरेका हुन् ।
२०३४ साल देखि अहिले सम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीमा प्रश्न गरे ।
उनले भने “किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रैछ ।”
आफूले पटक–पटक उखु किसानको समस्या बारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले भने, “जसलाई लाज लाग्नुपर्ने हो उसलाई लाज नलागेकाले हुनाले मलाई पुनः लाज नमानिकन भन्दै छु ।”
जुनसुकै सरकार आएपनि सबै सरकारबाट किसानहरु उपेक्षित हुदै आएको र विचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मूल्य तोकेपनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले कृषि मन्त्रालयको जटिल सर्कुलेशनको कारणले २५ देखि ३० प्रतिशत किसानले मात्रै गत बर्षको उखुको मुल्य पाएको तर यसबर्षको भनते बाँकी नै रहेको दाबी गरे । उनले चिनी मिलहरु ढेडमहिना सम्म संचालन नहुँदा गत बर्ष कै उखुको मूल्य किसानले नपाउँदा पनि सरकार भने निरिह र लाचार भएर बसेको आरोप लगाए ।
उहाँले चिनी उत्पादनका लागि मिल ढिलो चलेको हुनाले जेठ असार तिर चिनिको संकट उत्पन्न हुने उद्घोष गरे । उनले चिनी अभाव भएपछि फेरि चिनी आयातको लागि फेरी विचौलियाहरुको चलखेल बढ्ने दाबी गरे ।
सरकार र उद्योगीले आ आफ्नो हितमा किसानलाई सधै बलि दिने गरेको आरोप उनले लगाए । उनले भने “देवीले बाघ भालुको बलि मागेको छैन । देवीले माग्ने भनेको निर्वलको बली हो । व्यापारी, उद्योगपति, चिनी उद्योगपति र सरकारको लडाईमा बली चढे उखु किसानहरु । र यी तीनवटैले बलि दिए किसानलाई । ”






