गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि बेलायत सरकारसँग पहल गर्न माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्य गर्न तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् ।

सांसद भट्टराईले गोर्खा सैनिकलाई दिने तलव, भत्तालगायतको सुविधामा समेत बेलायत सरकारले विभेद गरिरहेको उल्लेख गर्दै तत्काल सो समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकहरुमाथि भएको विभेद अन्त्यका लागि तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरी द्विपक्षीय वार्ता गरेर सो समस्या समाधान गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सन् १९९३ अघि गोर्खा सैनिकमा भर्ना भएका र सन् १९९७ अघि ब्रिटिस सेनाबाट सेवा निवृत्त भएकाहरुलाई बेलायत सरकारले पेन्सनलगायतका सुविधामा पनि विभेद गरेकाले त्यसको अन्त्यका लागि सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले ब्रिटिस सेनामा रहेका गोर्खा सैनिकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहल गर्दै आएपनि त्यो पर्याप्त नभएको पनि स्मरण गराऐ । उनले बेलायती सेनामा नेपाली महिलालाई पनि भर्ना गर्ने लगायतका विषयमा पनि आवश्यक छलफल गरी बेलायत सरकारसँग समझदारी गर्न पनि सरकारलाई सुझाव दिए ।

त्यस्तै, अन्य सांसहरुले आ–आफ्नो क्षेत्रगत समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले क्षेत्रगत समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद यशोधा गुरुङ सुवेदीले लम्जुङको बेशीशहर देखि मनाङको सदरमुकाम चामे जोड्ने सडकखण्डमा ठूलो ढुंगा झेरेर बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी लगायतमा ठुलो समस्या देखिएको भन्दै सो ढुंगा हटाएर यातायात संञ्चालनको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सांसद रंगमती शाहीले हुम्ला जिल्लालाई सरकारले दिदै आएको अनुदानको खाद्यान्न जिल्लाको माग भन्दा अपुग भएको तथा अपुग खाद्यान्न पनि समयमै ढुवानी हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद भरत कुमार शाहले लुम्बिनीको आसपास क्षेत्रमा निलगाई र बँदेलले किसानको बालिमा क्षति पुर्याएकाले किसानलाई खेतमा आएका निलगाई र बँदेललाई मार्न पाउने अधिकार दिन माग गरे ।

सांसद बिमला नेपालीले संविधानको मर्म र भावना अनुसार दलितलाई जमिन उपलब्ध गराउन माग गरिन् ।

सांसद यज्ञराज सुनुवारले सबै खाले भ्रष्टाचार बाट मुलुकलाई जोगाउन भ्रष्टाचार नियन्त्रण गर्न गठित सबै संस्थाको गम्भीर ध्यानाकर्षण गराए ।

राम बहादुर विष्टले वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचार सेलाउन नपाउँदै बुढीगण्डकी आयोजनामा भ्रष्टाचार भएको समाचार आएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *