नेपाली काँग्रेसकी नेतृ डिला सङ्ग्रौलाले सरकारले अमेरिकालाई चिढाएको भन्दै अमेरिकी सहयोग रोक्ने षडयन्त्र भएको आरोप लगाएकी छिन् ।
शुक्रबार व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै काँग्रेस नेतृ सङ्ग्रौलाले नेपालले भेनेजुएलाको विषयमा बोलेर मित्रराष्ट्र अमेरिकालाई चिढाएको बताएकी हुन् ।
नेपालले शुरुदेखि नै असंलग्न नीति लिएको भन्दै भेनेजुएलाको सम्बन्धमा बोलेर अमेरिकालाई चिढाउनु गलत भएको उनको दाबी थियो ।
अमेरिकाको सम्बन्धमा बोलेर सरकार र नेकपाका नेताहरुले गलत गरेको भन्दै यसको कारण अमेरिकाले सहयोग रोक्न सक्ने खतरा रहेको बताइन् ।
उनले भनिन्, ‘अमेरिकाले नेपाललाई सहयोग गरिरहेको थियो । तर नेपालसँग कुनै सम्बन्ध नभएको भेनेजुएलाको सम्बन्धमा वक्तव्यबाजी गरेर अमेरिकालाई किन चिढाएको ? के त्यो वक्तव्यबाजी सहयोग रोक्ने चेष्टा हो ?
‘सत्तारुढ दलका नेताहरुले भेनेजुएलाको पक्षमा वक्तव्य निकाल्ने, पछि फेरि टङ्गस्लिप भयो भन्ने ? परराष्ट्रमन्त्रीले पनि भेनेजुएलाको पक्षमा वक्तव्य निकाल्नुको कारण के हो ? म प्रधानमन्त्रीसँग जवाफ माग्न चाहन्छु,’ नेतृ सङ्ग्रौलाले भनिन् ।






