काठमाडौँ, ६ साउन । सरकारी वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीको प्रतिनिधि वार्ता टोलीबीचको वार्ता सकारात्मक भएको छ ।
डा. केसीका तर्फबाट वार्तामा सहभागी डा जीवन क्षेत्रीले वार्ता सकारात्मक रुपमा अगाडि बढेको र सबै बुँदामा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजको वार्ताको प्रगतिबारे हामीले डा केसीलाई जानकारी गराउने र उहाँहरु (सरकारी टोली) ले सरकारलाई जानकारी गराएर थप वार्ता गर्ने गरी आजको वार्ता टुङ्गिएको छ ।” दुवै पक्षको छलफलपछि वार्ता आजै वा भोलि(शुक्रबार) पुनः बस्ने उहाँले बताउनुभयो ।
वार्तामा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा शैलेन्द्र उप्रेती, केदारबहादुर अधिकारी र लवदेव अवस्थी तथा प्रा डा केसीका तर्फबाट डा रञ्जन सापकोटा, डा अञ्जनीकुमार झा, डा क्षेत्री, डा लिजन महर्जन, डा स्नेहबन्धु रेग्मी र सुमन आचार्य सहभागी हुनुहनथ्यो ।
डा केसी चिकित्सा क्षेत्र सुधार लगायत विभिन्न माग राख्दै गत १२ दिनदेखि अनशन बसिरहनुभएको छ ।






