एसिड आक्रमण गर्नेलाइ अब नछोडिने, यस्तो कानुन बनाउँदैछ सरकार

काठमाडौ । एसिड आक्रमण गर्नेलाई कारबाही गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही गर्ने गरी अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका हुन ।

अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने बताएका हुन्। यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए । त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए ।

उनले एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्ने बताए । एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा सरकारले निशुल्क पढ्ने व्यवस्था मिलाउने प्रधानमन्त्रीले बताएका छन्। नेपालमा एसिड आक्रमणका १७ घटनामा १९ जना पीडित छन्।