लन्डन– पिटरबरोमा नेपाली बालबालिकाले ‘नेपाली कक्षा’मा पढ्न सुरु गरेका छन् ।
पिटरबरो नेपाली समाजको विशेष पहलमा १८ सेप्टेम्बर आइतबारदेखि पिटरबरोमा नेपाली बालबालिकाहरुको लागि नेपाली कक्षा सुरु गरिएको छ।
नेपाली कक्षामा नेपाली भाषाको साथै नेपाली कला संस्कृति, सभ्यता परम्परा र नेपालको भूगोल तथा अन्य आकर्षक पक्षको बारेमा नेपाली बालबालिकाहरुलाई पाठन गराइनेछ। हरेक आइतबार स्थानिय वेस्ट्वुड हलमा दिउँसो १:३० देखि ३:०० बजे सम्म चल्ने नेपाली कक्षाकी शिक्षिका अर्चना शर्मा हुनुहुन्छ।
पहिलो कक्षामा उपस्थित बालबालिकाहरुलाई नेपाली भाषा पढाइनुको साथै र नेपालबारे विविध बिषयमा जानकारी गराइएको थियो। नेपाली कक्षामा नेपाली बालबालिकाको आकर्षण राम्रो रहेको शिक्षिका शर्माले बताउनुभयो ।
विदेशमा जन्मेको र हुर्केको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, परम्परा र भूगोलको जानकार बनाएर नेपालसँगको प्रेममा जोडिराख्ने एउटा कडिको रुपमा नेपाली कक्षामा सञ्चालनमा ल्याइएको पिटरबरो नेपाली समाजका अध्यक्ष पवन शर्मा बताउँछन् ।
पहिलो कक्षामा बालबालिकाहरुको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन गरेका उपाध्यक्ष शिव भण्डारीले आफ्ना बालबालिकाहरु नेपाली कक्षामा सहभागी गराउन यस क्षेत्रका सम्पुर्ण अभिभावकहरुलाई अनुरोध गर्नुभएको छ ।






