काठमाडौ– एकीकरणका बाँकी काम टुंग्याउन बनेको नेकपाको ९ सदस्यीय कार्यदलको बैठकले सचिवालयलाई प्रगति प्रतिवेदन बुझाउने भएको छ र कार्यदललेनै वाँकी काम टुंग्याउने भन्दै थप समय माग गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको बैठकमा कार्यदलका संयोजक समेत रहेका रामबहादुर थापा बादलले अचानक प्रतिवेदन पेश गरेपछि कार्यदलका बहुमत सदस्यले असन्तुष्टि जनाएका थिए । त्यसपछि संयोजक बादलले शुक्रबारका लागि बैठक बोलाएका थिए ।
आजको बैठकमा संयोजक बादलले पेश गरेको प्रगति प्रतिवेदन पारित भएको एक सदस्यले बताए । कार्यदलका ती सदस्य भन्छन्, ‘हिजोको बैठकमा संयोजकले पेश गरेको प्रगति प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई फाईनल गर्ने काम भयो । उक्त प्रतिवेदननै सचिवालयलाई बुझाउने र वाँकी काम पनि यहि कार्यदलले गर्न सक्ने भएकाले थप समय माग गर्ने निर्णय गरियो ।’
सदस्यहरुबीच विवाद भएपछि लामो समय देखि कार्यदलको बैठक बस्न सकेको थिएन । २१ गते बसेको सचिवालय बैठकले यथास्थितिमा प्रतिवेदन बुझाउन निर्देशन दिएपछि बिहिबार र शुक्रबार कार्यदलको बैठक बसेको हो ।
पौष १३ गते स्थायी कमिटी बैठकले एकीकरणका वाँकी काम टुंग्याउने गरी प्रस्ताव तयार गर्न ९ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदललाई पौष मसान्तसम्म सवै काम टुंग्याउन समय पनि दिएको थियो । तर माघको तेस्रो हप्ता वितिसक्दा पनि कार्यदलले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि सचिवालयले जे जति काम भएको छ, त्यो सहित दुई दिन (२२ वा २३) भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
कार्यदलमा संयोजक बादल, विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, बर्षमान पुन, रघुविर महासेठ, योगेश भट्टराई, लेखराज भट्ट र बेदुराम भुसाल रहेका छन् ।
कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसैलाई थप समय दिने वा सचिवालयलेनै टुंगाउने भन्नेबारे अध्यक्षद्धयले निर्णय गर्ने बताइएको छ । कार्यदल भंग गरेर वाँकी काम सचिवालयलेनै टुंग्याउने वा कार्यदललाईनै थप समय दिने भन्नेबारे सचिवालयमा पनि टसल परेको छ । तर, कार्यदल वा सचिवालय जस्ले काम गरेपनि धेरै समय भने लिन नपाउने भएको छ ।






