पाँचथर थर्पू समाज यूकेको वार्षिक भेला सम्पन्न

tharpu samaj

लण्डन- पाँचथर जिल्लाको थर्पू गाविस उद्‍गम भई बेलायत आएर बसोवास गरिरहेका नेपालीहरुको संस्था पाँचथर थर्पू समाज यूकेले सधैं झैं यस वर्षको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

बेजिङस्टोकको केम्पसट भिलिज हलमा आयोजित कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष चन्द्रबहादुर सुन्दासले गरे भने उपाध्यक्ष खुशी लिम्बु र सचिब ठालुमान माबोले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरे । दिउँसो करिब १२ बजेतिर सुरु भएको कार्यक्रमले चारबजेतिर सचिव ठालुमान माबोको उद्‍घोषणसँगै औपचारिकता पायो ।

आसन ग्रहणको कार्यक्रमपछिपछि अध्यक्ष चन्द्र सुन्दास र सल्लाहकार रणबहादुर माबोले पानसको दियो प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गरे । त्यसपछि नेपालमा गतबर्ष भूकम्पबाट ज्यान गुमाएकाहरु र केहि महिना अघि निधन हुनुभएका थर्पू गाविसका बरिष्ठ समाजसेवी मानबहादुर काम्बाङ लगायत देहावसान भएका अन्य थर्पूवालेजनहरुको सम्झनामा एक मिनेट मौनधारण गरियो ।

कार्यक्रममा समाजका सल्लाहकारहरु र अन्य बरिष्ठ सदस्यहरुको हातबाट यस वर्ष बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने र प्रगति गर्ने सदस्यहरु सम्मानित भए । तिमध्ये एनआरएनए युकेको प्रवक्ता र रोयल बरो अफ ग्रेनिच नेप्लिज सोसाइटीका महासचिवजस्तो दुई जिम्मेवारी र महत्वपूर्ण पदहरु सम्हाल्न पुगेका समाजका एकजना संस्थापक एबं उपाध्यक्ष खुशी लिम्बु, एनआरएनएयूकेको सल्लाहकारमा नियुक्त भएका समाजका अध्यक्ष चन्द्र सुन्दास, थरक नेपाली समाज यूकेका अध्यक्ष पदमा निवार्चित भएका युवराज माबो, जी.सी.एस.ई. मा तीनवटा ‘ए स्टार’ र छवटा ‘ए’ ल्याएका युवन काम्बाङ र गत महिना आयोजित पाँचथर कप फुटबल प्रतियोगितामा १८ बर्षभन्दा मुनिका खेलाडीहरुको टिमको नेतृत्व गर्दै बिजय हात पार्ने सिक्कुम माबो प्रमुख रहे ।

समाजले कार्यक्रममा उपस्थित अतिथिहरु, चेलीहरु, बुहारीहरु र गत बर्षको कार्यक्रम सम्पन्न गरे यता प्रथमपटक बेलायत प्रवेश गरेका नयाँ सदस्यहरुलाई पनि स्वागत गर्‍यो । उक्त गाउँले भेला भेटघाट, खानपिन र मनोरञ्जनमा मात्र सिमित नरहेर आफ्नो जन्मभूमिको बिकासका लागि केहि महत्वपूर्ण कार्यहरु गर्ने प्रयासमा सरिक रह्यो । कार्यक्रमको उत्तरार्द्धपछि समाजका कोषाध्यक्ष धन काम्बाङले थर्पू क्याम्पसको लागि समाजद्वारा निर्माण हुन गैरहेको लाइब्रेरीका निम्ति थर्पूवाले आमा-बाउ र चेली-माइतिहरुबाट ३,९४७ पाउण्ड जम्मा भएको जानकारी गराउनुभयो ।

बेलायतमा बसिरहेका करिब ३० घर-परिवारहरुले (चेली-माइतिहरु सबै गरेर) आफ्नो निजी खर्चबाट निर्माण गर्न गइरहेको उक्त पुस्तकालय भवनको प्रारम्भिक लागत ६,००० पाउण्ड रहने अनुमान गरिएको छ भने समाजका सदस्य केन्ट निवासी श्री हेमराज काम्बाङले नि:शुल्क जग्गा उपलब्ध गराउनुभएको छ । रकम बुझाउन बाँकी परिवारहरुले समाजको खातामा यथासक्य चांडो बुझाउन कोषाध्यक्ष धन काम्बाङले सबैलाई अनुरोध गर्नुभएको छ । त्यस्तैगरी समाजका अध्यक्ष तथा एनआरएनए यूकेका सल्लाहकार चन्द्र सुन्दासले ‘वन एनआरएन वन एनसीसी’ अन्तर्गत परेको आफूले अध्ययन गरेको सिरिसे स्कूलको पुनर्निमाणका लागि १५१ पाउण्ड प्रदान गर्ने सार्वजनिक घोषणा गर्नुभयो ।

उक्त अवसरमा अध्यक्ष सुन्दासले आगामी सेप्टेम्बेर २४ मा एनआरएन यूकेद्वारा आयोजना हुन गइरहेको सिरिसे स्कूल च्यारिटी डिनरमा पालिदिनुहुन आफ्नो गाउँवासी र जिल्लावासीहरु लगायत सबैलाई हार्दिक अनुरोध गर्नुभएको छ । कार्यक्रममा नि:शुल्क पेय पदार्थ र साउण्ड सिस्टम प्रदान गरी अध्यक्ष सुन्दासले अतिरिक्त प्रायोजकको भूमिका निभाउनु भयो ।

खानपानको ब्यवस्थापनमा समाजका सदस्य सुरेन्द्र काम्बाङले अग्रणी भूमिका निभाउनुभयो भने सुरक्षाको जिम्मा अर्का सदस्य टेक माबोले लिनुभयो । हलको ब्यवस्थापन र सरसफाईको जिम्मा सल्लाहकारद्धय मोहन माबो र मनकुमार काम्बाङ, उपाध्यक्ष तिलबिक्रम तावा र सदस्य दिल सिगूले लिए । त्यस्तैगरी समाजका सल्लाहकार श्रीमती लिला सेलिङ माबो र सदस्य लिलाराज काम्बाङले राफल ड्र कार्यक्रम सञ्चालन गरे ।

कार्यक्रमको अन्ततिर नेपालबाट भर्खरै मात्र बेलायत आएकी आकृति राईले दुईवटा अत्यन्त मनमोहक नृत्य प्रस्तुत गरिन् । त्यसपछि सरु भएको डिजे कार्यक्रममा राति नौ बजेसम्म सबैजना रमाइलोसँग नाचे झुमे ।

कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिहरु, सल्लाहकारहरु, प्रायोजकहरु, पुस्तकालय निर्माणका लागि सहयोग दिने दाताहरु, स्वयंसेवकहरु लगायत सम्पूर्णलाई अध्यक्ष चन्द्रबहादुर सुन्दासले धन्यवाद ब्यक्त गर्नुभयो ।