नेपाल हुँदै भारतसम्म रेल जोड्न व्यग्र छौं : चीन

chinaकाठमाडौं–चीनले नेपालतर्फ विस्तार हुने छिङ्हाई—तिब्बत रेल सञ्जाललाई भारतसम्म लैजान आफू ब्यग्र रहेको जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई-तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने बिषयमा छलफल भएको चिनियाँ एक विज्ञलाई उदृत गर्दै भारतीय दैनिक हिन्दुले समाचारमा उल्लेख गरेको छ ।

‘चिनियाँ र नेपाली प्रधानमन्त्रीबीच भएको छलफललाई आधार मान्ने हो भने चीन, नेपाल र भारतबीच रेलसञ्जाल जोडिनुपर्छ’ चीनको इन्स्टिच्युट अफ हिस्ट्री स्टडिजका निर्देशक चाङ् युनले भारतीय पत्रकारसँग बेइजिङ्मा भएको भेटमा भनेका छन् ।

उनले छिङ्हाई तिब्बत रेललाई नेपाल—चीन रेल सीमासम्म विस्तार गर्ने काम सक्दो चाँडै सम्पन्न गर्न चीन लागिपरेको बताएका छन् । ‘चिनियाँ रेल नेपालतर्फ जोडिनुपर्छ भन्नेमा नेपालभित्र ब्यापक समर्थन छ ।

भारतमा पनि एउटा तप्का नेपाल हुंदै रेलमार्ग विस्तार भए द्विपक्षीय संबन्ध सुदृढ हुन्छ भन्ने विश्वास राख्छ । तर फेरी भारतभित्रै अर्को तप्का नेपाल आउने चिनियाँ रेल विस्तार भए भारतलाई घाटा हुने देख्छ ।’