मुलुकको कार्यदिशा र नेतृत्व माओवादीकै हातमा छ: प्रचण्ड

prachanda65काठमाडौँ- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलन एउटा पहिचान भएकाले मुलुकको समग्र कार्यदिशा र नेतृत्वसमेत माओवादीकै हातमा रहेका बताएका छन् ।

एमाओवादीका दिवङ्गत नेता गौरीशङ्कर खड्काको पाँचौ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी आन्दोलन पहिचान भएको र माओवादीको पहिचानबिना मुलुकमा अरु कुनै पनि पहिचान हुन नसक्ने बताएको हो ।

उनले वैचारिक रुपमा प्रष्टतासहित पार्टीको सङ्गठन सुदृढीकरण गर्नुपर्नेमा जोड दिदैँ वैचारिक र नैतिक बल नै सबैभन्दा ठूलो हतियार भएकोले त्यसैलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले एमाओवादीलाई पुनः एकीकृत, सङ्गठित र मर्यादित बनाउनका लागि पार्टीको शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आ–आफ्नो स्थानबाट त्याग गर्नुपर्ने स्पष्ट पारे । अध्यक्ष दाहालले भने, “मुलुकमा फेरि पनि क्रान्तिकारी विचारलाई एक पटक माथि उठाउनु जरुरी छ । हामी सबैले त्यसमा त्याग गराँै, अभियान सुरु गरौँ, हामी सफल हुन्छौँ ।”