बेलायतमा हजारौँको उपस्थितीमा यसरी सम्पन्न, भयो १९ औँ गोर्खा कप एलजी क्लबले जित्यो उपाधि

लन्डन । बेलायतको नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट मानिएको तमुधिं यूकेको आयोजनामा सञ्चालित गोर्खा कपको १९ औँ संस्करणको उपाधि ‘एलजी लायन्स’ क्लबले जितेको छ ।

शनिवार अल्डरसटको क्वीन्स् एभिन्यूमा प्रतियोगिता विहान केही बैर मौसमले गरेको च्यलेन्ज र कोभिड महामारीको विच भव्य र उत्साहजनक रुपमा सम्पन्न गरिएको हो ।

खेलामा सहभागि ३२ समूहलाई पछि पार्दै हुँदै ‘एलजी लायन्स’ ब्रिगेड ब्वाइजलाई १ शून्य गोलको अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि पछि थपिएको केही समयमै उक्त क्लबले एक गोल गर्न सफल भएको थियो । उक्त गोल नै एलजीको लागि निर्णायक बन्न पुग्यो ।

उपाधि विजेता क्लबले नगद २५ सय पाउन्डसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बिग्रेड ब्याइजले १५ सय पाउन्ड नगदसहित ट्रफी र मेडल, सर्टिफिकेट पुरस्कार प्राप्त गरेको छ । यस्तै भेट्रान तर्फ भने ब्रिगेड ब्वाइज क्लब ’बीबीसी’ ईलाम एफसीलाई हरायो । विजेता टिमले गद १२ सय पाउन्ड र उपविजेताले ८ सय पाउन्ड पाएको छ ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्थानीय रश्मोर बरोका मेयर ब्रुश थोमस, विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, आयोजक तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ तथा पुरस्कारका प्रायोजकहरुले पुरस्कार, ट्रफी तथा मेडलहरु वितरण गरेका थिए ।

प्रतियोगिताको फाइनल खेलअघि तमुधिं यूकेका संस्थापक तथा पूर्व अध्यक्ष र अग्रजहरुले ‘फेयर प्ले ब्यानर’ प्रदर्शन गरेका थिए ।

सम्पन्न संक्षिप्त औपचारिक समारोहमा प्रमुख अतिथि स्थानीय रश्मोर बरोका मेयर ब्रुश थोमस र विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्य राख्दै गोर्खाकपले बेलायतको नेपाली समुदायलाई एकताबद्ध गर्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । इभेन्ट संयोजक क्या देव घलेले प्रतियोगिताबारे जानकारी गराएका थिए ।

कार्यक्रममा गायक सपनकुमार राई, सयपत्री कल्चरल ग्रुप, धौलागिरी नौमती बाजा लगायतका सांस्कृतिक प्रस्तुतिले पनि विशेष रौनक थपेका थिए । खराब मौसमका कारण प्यारासुट डिस्प्ले को कार्यक्रम भने स्थगित गरिएको थियो । कार्यक्रमस्थलमा दर्जनौंको संख्यामा खाना, व्यवसाय तथा नेपाली सामग्री र च्यारिटीका स्टलहरुले उत्साहजनक आकर्षण पाएको थियो ।

तुमिध लण्डन इकाईका पूर्वअध्यक्ष तथा सल्लाहाकार डेविड गुरुङले लण्डन नेपाल न्यूजसँग प्रतिक्रिया दिदै कोभिड महामारीकै वीच उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न भएको भन्दै सन्तोष व्यक्त गरे ।

त्यस्तै आयोजक तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले कार्यक्रम भव्य रुपमा सफल भएको भन्दै सबैको सहयोग र सहभागिताको निम्ती धन्यवाद दिए । गुरुङले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण खेलाडी, सहयोगदाता, मिडिया एवम् समुदायलाई धन्यवाद ज्ञापन गरे ।

एनआरएनए यूकेको निर्वाचन ३१ जुलाईमा हुन गइरहेको अवस्थामा उक्त निर्वाचनमा उम्मेद्वारी दिएका व्यक्तिहरुले पनि आफ्ना परिचय कार्डहरुसहित प्रचारप्रसार समेत गरेका थिए ।

कोभिड महामारीको कारण गतबर्ष स्थगन भएको उक्त गोर्खा कप यसपटक सुरक्षा मापदण्डसहित सम्पन्न भएको हो । महामारीकैवीच करिब ५ हजार नेपालीहरु उक्त कार्यक्रममा सहभागि भएका थिए । विहान केहीसमय बर्षा भएपनि मौसमले दिन भर नै राम्रो साथ दिएको कारण खेल हेर्न र अवलोकन गर्न आएकाहरु पनि उत्साहित भए ।

धौलागिरी नौमति बाजाले दिनभर नै बाजाषजासहित उपस्थितहरुलाई नचाएको थियो । उक्त कार्यक्रम लण्डन नेपाल न्यूजले प्रत्यक्ष रुपमा प्रशारण गरेको थियो ।