एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेद्वार नन्द गुरुङ, यस्ता छन् एजेन्डाहरु

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको यही जुलाई ३१ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा वर्तमान कार्यसमितिका प्रवक्ता समेत रहेका नन्द गुरुङले अध्यक्ष पदमा उम्मेद्वार गरी चुनावी मैदानमा उत्रिएका छन् ।

उनीसँग डा. ज्ञानेन्द्र रेग्मीले प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलियाको नेपाली समुदायमा चर्चाको शिखरमा रहने गुरुङ १७-१९ न्यू साउथ वेल्स राज्य समिति संयोजक र १९ -२१ एनआरएनए अष्ट्रेलियाको प्रबक्त्ता रहेका छन । यसपटक अध्यक्ष पदमा चुनावी समीकरणसहित अघि बढेका हुन् ।

कोभिड महामारीले अष्ट्रेलियाको नेपाली क्षेत्रमा परेको प्रभाव न्यूनिकरण र पुनरुत्थानलाई प्रमुख चुनावी एजेन्डा बनाएका उनले कोभिड १९ महामारीविरुद्ध लड्न कार्यदल बनाउने, संघीय तथा प्रदेश सरकारहरुसँग समन्वय र सहजीकरण गरी स्वास्थ्य क्षेत्रको उत्थानको काम गर्ने, कोभिड १९ सहयोग, प्रतिक्रिया, रिकभरी र सरकारी सूचनाहरुबारे जानकारी गराउन ‘इन्फरमेशन हब’ सञ्चालन गर्ने र कोभिडको कारण कमजोर अवस्थामा रहेका नेपालीहरुलाई राहत वितरण गर्ने एजेन्डा अघि सारेका छन् ।

त्यस्तै संस्थाको आर्थिक समृद्धि गर्ने, आर्थिक पारदर्शीता कायम गर्ने र सचिवालय स्थापना गरी एनआरएनएको संस्थागत विकास गर्ने, अष्ट्रेलियाको समुदायमा नेपालीहरुको बढी भन्दा बढी सहभागिता गराउनको निम्ती विभिन्न कार्यक्रम र सहजीकरण गर्ने, एनआरएनए फाउन्डेशनहरु आधार तथा नितीलाई सबल बनाउँदै परोपकारी प्रोजेक्टहरु सञ्चालन गर्ने, आर्थिक समृद्धि गर्ने उनको योजना छ ।

आईसीसीसँग समन्वय गर्ने, नेपाल र अष्ट्रेलिया दुवै देशको नागरिकताकाको विषयमा सरकारसँग लविङ गर्ने, यहाँ आउन चाहने विद्यार्थीहरुको निम्ती प्रक्रिया सहज र सजिलो बनाउने लगायतका प्रतिबद्धताहरु उनले गरेका छन् ।

साझा एनआरएनए, सबल एनआरएनए भन्ने नारासहित चुनावमा होमिएका उनले आफूले गरेका प्रतिबद्धताहरु पूर्ण रुपमा पालना गर्ने र त्यसको लागि जिम्मेवारी दिन सबै अष्ट्रेलियामा रहेका एनआरएनहरुलाई आग्रह गरेका छन् ।

३१ जुलाईमा एनआरएनएको नयाँ नेतृत्वको लागि अनलाइनमार्फत चुनाव हुँदैछ ।