तक्दीर अधिकारी
सिड्नी ।अष्ट्रेलिया सरकारले आफ्नो देशको नागरिकता लिन चाहनेहरुको निम्ती नया व्यवस्था गर्न लागेको छ । योग्यता पुगेका गैर–अष्ट्रेलियनहरुलाइ निश्चित परिक्षा पास गरेपछि मात्र सरकारले नागरिकता दिने गरेको छ । तर अहिले भने उक्त व्यवस्थालाइ सरकारले संशोधन गर्दै परिक्षामा सोधिने प्रश्नहरु अलिक कडाइ गर्ने भएको छ । परिक्षामा सोधिने प्रश्नहरुमा गरिने व्यवस्था परिवर्तन गर्दै अब हरेकले नागरिकता प्राप्त गर्न आफ्नो देशका मूल्यमान्यताहरु सँग सम्बन्धित ५ प्रश्नहरु अनिवार्य पास गर्नुपर्ने मान्यता बनाउन लागेको होे ।
अर्थात हालसम्म सरकारले लिने नागरिकता सम्बन्धी परिक्षामा २० प्रश्नहरु सोधिने गरेको छ । ती २० प्रश्नहरुमध्ये ५ प्रश्नहरु अष्ट्रेलियाको राष्ट्रिय विषय सँग सम्बन्धित हुनेछन् । हालसम्म ७५ प्रतिशत अंक लिएमा मात्र नागरिकता पाइन्छ । तर अब त्यो ७५ प्रतिशत भित्र अष्ट्रेलियाको मुल्यमान्यता झल्किने ५ प्रश्नहरु अनिवार्य रुपमा मिलाएकै हुनुपर्ने भएको हो । यस खालको व्यवस्थाको कार्यान्वयन आउने नोभेम्बरको १५ बाट हुनेछ ।
मिडिया सँग कुरा गर्दै कार्यवाहक अध्यागमनमन्त्री एलन टुजले आफ्नो देशका अत्यन्तै महत्वपूर्ण मुल्यमान्यताहरुले देश निर्माणमा मुख्य भुमिका खेलेको र यीनै कारणले पनि देशमा नागरिकता लिन चाहनेहरुको संख्या बढीरहेको बताएका थिए । यी मुल्यमान्यताहरुको बारेमा जानकार भएमात्र अष्टेलियाको बासिन्दा हुन सक्ने उनले बताए । उक्त मान्यताहरुले वाक स्वतन्त्रता, लोकतन्त्रको महत्व, विधिको शासन, समानता लगायत मूल मर्महरुलाइ आत्मसाथ गर्ने उनले बताए । नागरिकता लिन चाहनेहरुले सामेल हुने परिक्षामा अष्टेलिया र यहाँका मानिसहरु, अष्टेलियाको प्रजातान्त्रिक विश्वास र स्वतन्त्रताहरु, अष्टेलियाको सरकार र कानून लगायतका विषयमा प्रश्नहरुको सामना गर्नुपर्ने हुन्छ । करिब १ दशक पछि सरकारले यस सम्बन्धी व्यवस्था परिवर्तन गर्न लागेको होे ।
अब अष्ट्रेलियाको नागरिक बन्न नया व्यवस्था ,५ प्रश्नको सहि उत्तर अनिवार्य






