नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्डको शव फेला

लण्डन । प्रहरीले नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको शव फेला पारेको छ ।उनी मे ६ महिनादेखि हराइरहेका थिए।

उनी दौड्न नियमित जाने एलिस हल्ट ज‌ंगलमा सोमबार उनको शव फेला परेको ह्याम्पसायर प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान गरिरहेको ह्याम्पसायर प्रहरीले उनको मृत्यु सन्देहास्पद नभएको बताएको छ । प्रहरीले मोरिसको केसलाई स्थानीय कोरोनरमा पठाउने तयारी गरिरहेको बताएको छ।

ओैपचारिक रुपमा उनको पहिचान नभए पनि उनको परिवारलाई शव भेटिएको जानकारी गराइसकिएको प्रहरीले बताएको छ । मोरिसको परिवारलाई विशेषज्ञ प्रहरीले साथ दिइरहेको छ ।

बेलायतका कुटनीतिज्ञ मोरिस मे ६ तारिखका दिन आफ्नो निवासबाट बिहान दौड्न निस्किएका थिए ।

बेलायतको वोर्सेस्टरसायरमा जन्मिएका मोरिस सन् १९९० मा खुला प्रतिस्पर्धाबाट कुटनीतिक सेवामा प्रवेश गरेका थिए । उनी सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदुत थिए । उनी राजदुत रहेकै बखत तत्कालिन प्रिन्स ह्यारीको नेपाल भ्रमण भएको थियो । नेपालका लागि राजदुत नियुक्त हुनुअघि उनी प्यासिफिक महाशाखाका प्रमुख थिए ।