काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)की पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ । उनको क्यान्सरले निधन भएको पारिवारिक स्रोतले जनाएको छ । त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष थिइन् । २०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारीको पाँच दाजुभाइ र दुई दिदीबहिनी छन् ।
स्वयम्भूमा घर भई हाल अष्ट्रियामा परिवारसहित बस्दै आएकी थिइन् । श्रीमान् र दुई छोरा अनुपम र आयुष हाल अष्ट्रियामा नै बस्छन् । नेविसंघकी नेतृ अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते शुक्रबार गर्ने तयारी छ । अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् ।
पाल्पाको तानसेनमा रहेको मुक्तिनाथ एफएममा पनि विज्ञान संसार कार्यक्रमको उत्पादक तथा प्रस्तोताको भूमिका निर्वाह गरेकी अधिकारीले अष्ट्रियाको सरकारी स्कुलमा नेपाली भाषा विषय सञ्चालनका लागि पहल गरी संस्थापक शिक्षिका समेत थिइन् ।






