तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउने छाँटकाँट देखिएको छैन । डढेलो लाग्न सुरु भएको तीन महिना भइसक्यो । अहिलेसम्म डढेलोमा परी २३ जनाले ज्यान गुमाइसकेका छन् भने आगोको चपेटामा परी कराडौं पशुपन्छी नष्ट भइसकेको छ । डढेलोले हजारौंलाई घरबारविहीन बनाएको छ भने झन्डै ५० करोड पशुपंक्षी जलेर नष्ट भएका छन् ।
घरपालुवा जनावरसँग जंगलमा रहेको कंगारु आगोको चपेटामा परेको सरकारी अधिकारीहरुले बताएका छन् । हालै सार्वजनिक गरिएको तथ्यांकअनुसार कीरा फट्यांग्राबाहेक ४९ करोड चराचुरुङ्गी र पशुपंक्षी आगलागीमा परेर नष्ट भएका छन् ।
आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताएका हुन् । उनका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उनले थाहा पाएसम्मकै सबै भन्दा धेरै हो । “धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,” उनले भने । उनले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिएका छन् ।
यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए । अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो ।
यतिबेला अस्ट्रेलियाको तामक्रम एकदमै उच्च छ । तापक्रम ४४ डिग्रीसम्म पुगेको छ । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको १ सय ४६ स्थानमा डढेलो सल्केको छ । डढेलो अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ । धेरै मानव बस्ती आगोले सखाप भएका छ भने डढेलोको धुवाँले न्युजिल्यान्डसम्म फैलिएको छ ।
डढेलोमा उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हँुदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ । अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरुले जनाएका छन् ।
मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ ।






