काठमाडौं– निर्वाचन आयोगस्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयले २०७४ मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आज सार्वजनिक गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा बन्दसूची सार्वजनिक गर्नुभएको हो ।
बन्दसूची सार्वजनिक गर्नुहुँदै आयोगका सचिव पौड्यालले समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ उम्मेदवारको बन्दसूची समावेश भएको प्रारम्भिक विवरण रहेको जानकारी दिनुभयो । सार्वजनिक गरिएको बन्दसूची अनुसार, आदिबासी पुरूष ७८३, महिला ९३१ र अन्य १, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार रहेका छन् । यसैगरी, अपाङ्गता भएका पुरूष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचन समेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए । सार्वजनिक गरिएको बन्दसूची निर्वाचन आयोगको वेभ साइटमा राख्ने व्यवस्था मिलाइएको र मिति २०७४ कात्तिक १८ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा बन्दसूची प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ ।
उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान वा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभाका हकमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भएको भए सो सम्बन्धमा ७ दिनभित्र दाबी विरोधमा उजूरी गर्न सकिने समेत व्यवस्था रहेको छ ।
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम अनुसार, २०७४ कात्तिक १८ देखि कात्तिक २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म त्यस्ता दाबी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम रहेको छ । जाँचबूझपश्चात् बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशित गरी २०७४ मङ्सिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।






