सिड्नीमा तमु ल्होछार भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

तक्दीर अधिकारी/अनु लामा

सिड्नी । अस्ट्रेलियामा तमु ल्होछार जनवरी ४ शनिबारका दिन भव्यताका साथ सम्पन्न भयो । अपरान्ह ४ बजे लामाबाट पूजा आरम्भ भएको कार्यक्रम सांस्कृतिक र डिनरपश्चात सम्पन्न भएको थियो । पूजा सम्पन्न भएपछि तमु समाज अस्ट्रेलियाका महासचिव अर्जुन गुरुङले पाहुनालाई मन्तव्यमार्फत् स्वागत गरेका थिए ।

प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल रहेको उक्त कार्यक्रममा समाजका अध्यक्ष दिनेश गुरुङले पाहुनाको स्वागतमा मन्तव्य राखेका थिए । राजदूत दाहालले गुरुङ समुदायको आफ्नै संस्कृतिले सिर्जना गरेको नयाँ वर्ष तमु ल्होछारको सबैलाई शुभकामना दिए । विविध संस्कृतिले विश्वमा नेपालको छुटै पहिचान स्थापित गराउन सफल नेपालले यस वर्षलाई भ्रमण वर्र्षको रुपमा मनाउन लागेको जानकारी गराएका थिए । उनले आउँदो ७ तारिख पर्यटनमन्त्री योगेश भट्टराई अस्ट्रेलिया आउने र त्यसपछि भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुने बताए ।

कलाकारहरुले कार्यक्रमलाई सांगीतिक माहोलतर्फ मोडेका थिए । गुरुङ संस्कृति झल्कने गीत संगीतमा कार्यक्रममा सहभागीहरु रमाएका थिए । ‘हितको माया सालैजो नृत्यबाट धेरैले मनोरञ्जन लिएको देखिन्थ्यो । गुरुङ भाषाको स्वागत गीतबाट सुरु भएको सांस्कृतिक कार्यक्रममा अञ्जना गुरुङले कोरियोग्राफी गरेको नृत्य मन कि छोरीले धेरैको मन जितेको थियो । यस्तै विवेक गुरुङले गाएको हाम्रो नेपालमा शीर्षबोलको गीत पनि धेरै मन पराएका थिए ।स्थानीय कलाकारको प्रस्तुति सम्पन्न भएपछि नेपालबाट आएकी चर्चित गायिका मिलन नेवारले आफ्नो प्रस्तुति दिएकी थिइन् । झन्डै डेढ घन्टा लामो उनको प्रस्तुतिमा सहभागीले भरपूर मनोरञ्जन लिएका थिए । कार्यक्रममा अन्त्यमा समाजका उपाध्यक्ष भोज र जीवन गुरुङले सहभागी भएको धन्यवाद दिँदै कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद् संयोजक देव गुरुङ,  नारी निकुन्ज  न्यू साउथ वेल्स  राज्य परिषद् सह- संयोजक डा. समिता गुरुङ ,थकाली सेवा समितिका इन्द्र तुलाचन, पूर्व  न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद् संयोजक नन्द गुरुङ, गोरखा नेप्लिज कम्युनिटीका जीतमान लिम्बु, तामाङ सोसाइटी सिड्नीका सुनदोर्जी तामाङ, किरात खुम्बु राई सोसाइटीका अध्यक्ष सन्तोष राई,  नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठानका अध्यक्ष सुजता केसी, निम्फाका अध्यक्ष अरुण तामाङ, गैरआवासीय नेपाली संघ ओसियना महिला संयोजक भूमा लिम्बू, गुठी अस्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठ तथा छन्त्याल परिवारका अध्यक्ष पदम छन्त्यालको कार्यक्रममा सहभागिता थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *