काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा तल्ला कमिटिको एकीकरण, स्थायी कमिटी बैठकको एजेण्डा तय तथा सरकारको कामकारबाहीबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आजको बैठकमा प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको लागि बनाइएको कार्यदलले आफ्नो प्रस्ताव पेश गर्ने छ ।
कार्यदलले तयार पारेको प्रस्तावमा शीर्ष नेताहरुको छलफल पछि स्थायी कमिटी बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।
स्थायी कमिटी बैठक साउन यता बस्न सकेको छैन । त्यस्तै केन्द्रीय समितिको बैठक एक पटक मात्रै बस्न सकेको छ ।
बुधबारमात्रै २२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।
पछिल्लो समय नेकपामा शिथिलता पैदा भएको भन्दै पार्टी भित्रबाटनै शीर्ष नेताहरुको आलोचना हुदैँ आएको छ ।
तल्ला तहसम्मका कमिटीको एकीकरण प्रक्रिया नटुंगिदा र केन्द्रीय सदस्य लगाएत अन्य कमिटीका सदस्यहरुको कार्यविभाजन नहुँदा नेकपामा अन्योलता बढेको छ ।
पार्टी एकताको छ महिना वितिसक्दा पनि नेकपामा अहिलेसम्म पोलिटव्यूरो, आयोग लगाएत केन्द्रीय विभागहरु बन्न सकेका छैनन् । नेकपामा अहिले ९ सदस्यीय सचिवालय मात्रै सक्रिय छ ।
यसअघि कात्तिक ८ गते नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठक महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई प्रदेश कमिटीका सदस्यको चयन र केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्गायाएर सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी दिएको थियो ।






