बेलायतमा व्यवसायीलाई प्रेरित गर्दै भब्य सम्पन्न गरियो बिएनसिसीको क्रिसमस बिशेष कार्यक्रम (फोटोफिचरसहित)

– शिव भण्डारी

लन्डन ।बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले व्यापार वृद्धिसम्बन्धि रणनीति र व्यवसायीलाई प्रेरित गर्दै क्रिसमस बिशेष  एक  कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) ले बिहीबार बेलुका लन्डन इलिङस्थित हिल्टन होटेलमा आयोजना गरेको एक समारोहमा व्यवसायीहरुले उपयुक्त समयमा नेपालमा लगानीको प्रतिवद्धता जनाए ।

प्रमुख अतिथी लन्डनस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनालले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड रहेको, त्यहां धेरै अवसर भएको र सरकारले पनि सहज वैदेशिक नीति बनाएको बताउंदै व्यवसायीलाई प्रेरित गरेकी थिइन् ।

खनालले कोभिड महामारीपछि खस्किएको नेपालको पर्यटन उकास्न पनि बेलायतका व्यवसायीको भूमिका उल्लेख्य हुने बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिएनसीसी अध्यक्ष डा. कपिल रिजालले आफ्नो संस्थाले नेपालमा लगानी र बेलायतमा व्यवसाय प्रवर्धनका लागि पुलको रुपमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताए ।

‘हामीले नेपाल विपत्तिमा परेका बेला आर्थिक सहयोग गर्नेमात्र होइन्, बेलायती तथा नेपाली व्यवसायीलाई लगानीका लागि पनि प्रेरित गरिरहेका छौं’, बिएनसीसी अध्यक्ष डा. कपिल रिजालले भने ।

कोभिडका कारण अहिले हरेक व्यवसायमा असहज परिस्थिति आएपनि आफूहरुको प्राथमिकता नेपालको आर्थिक समृद्धि नै रहेको रिजालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथी तथा बेलायती सांसद जेन हन्टले बेलायत नेपालबीच सदियौं लामो सम्बन्धबारे चर्चा गर्दै ब्रिटेनले नेपालको विकास र समृद्धिमा सधैं साथ दिने प्रतिवद्धता जनाइन् ।

बेलायतले नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सहयोग गरेको स्मरण गर्दै हन्टले नेपाली समुदायले पनि बेलायतमा धेरै सहयोग गरेको उल्लेख गरिन् ।

बिएनसीसी अध्यक्ष डा कपिल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिराज भट्टले बिएनसीसीको संक्षिप्त परिचयसहित संस्थाका गतिविधिबारे अवगत गराउदै कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा बिएनसिसी पूर्व अध्यक्ष राजन कंडेल,कोषाध्यक्ष इन्द्र गिरी,कमिटी सदस्यहरु दीपक श्रेष्ठ, कमल पौडेल,सन्तोष मण्डल, बी पी खनाल,बसन्त नेपाल,बुद्धिजीबी शिवजी श्रेष्ठ,कृष्ण भट्ट लगायत विभिन्न पदाधिकारी तथा अतिथिहरु सहभागी रहेको कार्यक्रममा बेलायतस्थित नेपाली पत्रकारहरुसहित करिब ६० जनाको सहभागिता थियो ।

विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

उक्त क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित भएका छन् ।बिएनसीसीले बेलायतमा मिडिया, पर्यटन, कला संस्कृति लगायत क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष शिव भण्डारी, निवर्तमान सचिव डा जगन कार्की, तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ,बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ,चर्चित गायक तथा डिजे सपनकुमार राई, बिसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, नवीन गुरुङ, पासापुच यूके अध्यक्ष ओजेश सिंह र फोटोग्राफर-डिजाइनर सुमन श्रेष्ठ छन् ।

सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि कार्यवाहक राजदूत खनाल र बिएनसिसी अध्यक्ष डा. रिजालले सम्मान पत्रसहित सम्मान गरेका थिए ।