लण्डनमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स द्वारा चार नेपाली पत्रकार सम्मानित

लन्डन ।बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी)ले बेलायतमा कार्यरत चार नेपाली पत्रकारलाई सम्मान गरेको छ ।

बिहीबार बेलुका लन्डन इलिङस्थित हिल्टन होटेलमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो।

बिएनसिसीको सम्मान प्राप्त गर्नेहरुमा पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल, लण्डन नेपाल न्यूजका प्रधान सम्पादक तथा उपाध्यक्ष शिव भण्डारी र निवर्तमान सचिव डा जगन कार्की छन् ।

उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल र बिएनसिसी अध्यक्ष डा कपिल रिजालले सम्मानपत्रसहित सम्मान गरेका थिए ।

बेलायतमा रहेर मिडियाको क्षेत्रबाट नेपाल र नेपाली समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकारहरुलाई यो सम्मान गरिएको हो ।

सम्मानित पत्रकारहरुमध्ये अर्याल अन्नपूर्ण पोस्टका बेलायत संवादाता तथा बेलायतबाट सञ्चालित नेपाली लिंकका सम्पादक हुन् । त्यस्तै, पत्रकार पोखरेल विगत डेढ दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध रहेर बेलायतबाट सक्रिय छन् । उनी नेपाली लिंक अनलाइनका प्रधान सम्पादक पनि हुन् ।

त्यसैगरी पत्रकार भण्डारी लन्डनबाट सञ्चालित लन्डननेपालन्यूजका प्रधान सम्पादक हुन् भने डा कार्की ग्लोबलनेप्लिज डटकम र साउथ एशिया टाइम अनलाइनसँग आबद्ध छन् ।

सोही अवसरमा बिएनसिसीले बेलायतमा नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा योगदान गरेबापत तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ र बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठलाई सम्मान गरेको छ ।

त्यसैगरी, बिसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय अभियन्ता नवीन गुरुङ, पासापुच यूकेका अध्यक्ष ओजेश सिंह र फोटोग्राफरर डिजाइनर सुमन श्रेष्ठ,चर्चित गायक तथा डिजे सपनकुमार राईलाई पनि बिएनसिसीका तर्फबाट सम्मान गरिएको थियो ।

बिएनसिसी अध्यक्ष डा कपिल रिजालले अध्यक्षता र उपाध्यक्ष विराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बेलायती सांसद जेन हन्टसहित बेलायती तथा नेपाली बिजनेस कम्युनिटीका थुप्रै हस्तीहरुको उपस्थिति थियो ।