लन्डन।नेपाल भ्रमण वर्ष २०२० को लन्डनमा पनि शुभारम्भ गरिएको छ । लन्डनस्थित नेपाली दूतावासमा एक समारोहकाबीच भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ गरिएको हो ।यहांस्थित नेपाली दूतावासमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले एक भव्य समारोहकाबीच नेपाल भ्रमण वर्ष २०२० अभियानको औपचारिक सुरुआत गरेका छन्।
शनिवार अपरान्ह दूतावासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राजदूत सुवेदीले भने, “बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या झन्डै डेढ लाख पुगेको अनुमान छ। हरेक नेपालीले एकजना ब्रिटिश साथी नेपाल पठाउने हो भने एक लाख पर्यटक सजिलै नेपाल जान सक्छन् ।” बेलायतमा सक्रिय विभिन्न जिल्लाका संगठनहरुलाई आफ्नो जिल्लाको भ्रमण गर्न आह्वान गर्न पनि उनले आग्रह गरे। 
दूतावासका उपनियोग प्रमुख शरद राज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनका ५० ओटा बसहरुमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको जानकारी दिए। उनले बेल्फास्ट, म्यानचेस्टर लगायतका सहरमा पनि भ्रमण वर्ष सम्बन्धि कार्यक्रमहरु आयोजना गरिएको बताए। कार्यक्रममा एनआरएन युकेकि अध्यक्ष पूनम गुरुङले बेलायतस्थित सबै संघसंस्थालाई भ्रमण वर्ष सफल पार्न आह्वान गरिन्।
सो अवसरमा भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका विभिन्न समितिका पदाधिकारीहरुले आआफ्नो समितिका कार्यक्रम र योजनाबारे प्रस्तुति गरेका थिए। समारोहमा एनआरएनएका केन्द्रिय महासचिव डा हेमराज शर्मा, निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्य, युरोप क्षेत्रका उपसंयोजक कृष्ण तिमल्सेना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
कार्यक्रममा बाँसुरी समुह यूकेका सदस्यरुले नेपालको राष्ट्रिय गानको धुनसहितको प्रस्तुति गरेका थिए ।
लन्डनस्थित नेपाली दूतावासमा एक समारोहकाबीच भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ






