पोखरा- सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले आन्दोलनरत मधेसी दलहरुसँग छिट्टै निर्णायक वार्ता हुने बताएका छन् ।
प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार भेटघाटमा उनले आन्दोलनरत मधेसी मोर्चासँग निर्णायक वार्ता हुने र केही दिनमै सहमति जुट्ने दाबी गरे ।
मन्त्री राईले मिति, समय र स्थान तोकेर सरकारले निर्णायक वार्ताका लागि मधेसी मोर्चालाई आह्वान गर्ने तयारी गरिरहेको जानकारी पनि दिए । मधेसी मोर्चा वार्ताका लागि अनिच्छुक देखिए सरकार शान्ति सुव्यवस्था कायम राख्न कडा ढंगले अघि बढ्ने उनको भनाई थियो ।
मन्त्री राईले सञ्चार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले अबको मन्त्रिपरिषद् बैठकले सञ्चार नीति पुनरावलोकनका लागि उच्चस्तरीय समिति बनाउने जानकारी पनि दिए ।
यस्तै, उनले पत्रकारिता क्षेत्रमा लागेकाहरुको क्षमता अभिवृद्धिका लागि छिट्टै राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गरिने पनि बताए ।






