काठमाडौं– भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेकाबेला आइतबार राति रोकिएको छ । प्रहरीले दुई माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणास्थल सिल गरिएको छ । अब के हुन्छ भन्ने आम चासो रहेको छ ।
राति पौने १२ बजे दुई माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले रणभूमि बनाएको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
आफू बाथरुम जानेबेलामा एक्कासी होहल्ला भएपछि बाथरुम नपसी फर्कंदा स्थिति तनावपूर्ण देखेको न्यौपानेले बताए ।
एमाले उम्मेदवार देवी ज्ञवालीले शान्तिपूर्ण मतगणना भइरहेकाबेला सत्तारुढ दलका प्रतिनिधिहरुले मतगणना रोकेको भन्दै दु:ख व्यक्त गरे ।
वैशाख ३१ गते भएको निर्वाचनको गणना अन्तिम चरणमा पुगेको थियो । २९ वडा रहेको भरतपुरमा १९ वडाको मतगणना अन्तिम चरणमा पुगेको थियो भने २० वडाको बाँकी थियो ।







