सिड्नीमा सोनाम ल्होछार भव्य हुने

अनु लामा

सिड्नी । सोनाम ल्होछार २०५६ ‘जिवा ल्हो’ (मुसा वर्ष) को उपलक्ष्यमा तामाङ समुदायले विश्वभरि नै आफ्नो धर्म, संस्कृति र भाषाको जर्गेनामा जुटिरहँदा सिड्नीमा रहेका तामाङ समुदायको प्रतिनिधि संस्था तामाङ सोसाइटी अफ एनएसडब्लुले पनि भव्यरुपमा आयोजना गर्ने भएको छ ।

महासचिव अविरल तामाङले दिएको जानकारी अनुसार आउँदो २५ जनवरी शनिबारका दिन सोनाम ल्होछार भव्यरुपमा मनाइने भएको छ । कार्यक्रम हर्सभिल मराना अडेटेरियममा हुनेछ ।  नेपाल बाट आउने सेलो जगतका चर्चित कलाकारहरु कुमार मोक्तान, निर्मला घिसिङ र विश्व दोङको सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा तामाङ संस्कृतिको प्रदर्शनी, नाँच गान तथा स्थानीय कलाकारले मनोरञ्जन दिनेछन् ।

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।

दुइ शब्द मिलेर बनेको  ‘ल्होछार’ । जसको अर्थ   नयाँ  बर्ष भन्ने बुझिन्छ र, यसै अनुरूप    ल्होछार मनाउने गरिन्छ । ल्होछार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिने जानकारी महासचिव तामाङले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *