भव्य बन्यो माकाथर क्षेत्र नेपाली समाजको तीज विशेष कार्यक्रम

सिड्नी । माकाथर क्षेत्र नेपाली समाज अष्ट्रेलियाले तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । हरितालिका तीजको अवसर पारेर ६ अगस्टमा इङलबन कम्युनिटी हलमा कार्यक्रम सम्पन्न भएको हो ।

समाजले प्रत्येक वर्ष आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष सबैको साथ सहयोग र सदभावले सोँचेको भन्दा भव्य बनेको अध्यक्ष अखण्ड ज्ञवालीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ज्ञवालीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा राज्य सांसद अनुलक चान्थिभोङ प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले नेपाली समुदायको कार्यक्रममा आफुलाई पनि आमन्त्रण गरेकोमा समाज प्रति आभार व्यक्त गरे ।

त्यस्तै मसुद चौधरी, महासचिव शर्मिला बास्ताकोटी लगायतले पनि कार्यक्रममा सम्बोधन गरेका थिए । कार्यक्रममा उच्च पदस्थ नेता एवम् विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।

सो अवसरमा तीज गीत प्रस्तुती सगैं स्थानीय कलाकारहरुले हरितालिका तीजका भाकाहरु प्रस्तुत गर्दै सहभागी दर्शकहरुलाई नचाएका थिए । कार्यक्रममा तीजको मीठो परिकार, सांगीतिक माहोल र फेसन सो लगायतका कार्यक्रमहरु समेत गरिएको थियो ।

सोही अवसरमा टिकटको अर्धकट्टी मार्फत छानिएको लक्की ड्र को विजेता समेत घोषणा गरिएको थियो । जसको प्रायोजन बुद्ध ज्वयलर्सले गरेको थियो । ट्वान्टी वान सेन्चुरी मिन्टोको मुख्य प्रायोजक रहेको कार्यक्रमको सञ्चालन पुजा पाण्डे र रुक्सा शर्माले गरेका थिए ।

सन् २०११ मा स्थापना भएको माकाथर क्षेत्रीय नेपाली समाजले सन् २०१४ देखि तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको सल्लाहकार टुँगानाथ खरेलले जानकारी दिए ।