अस्ट्रेलियामा भारतीय नागरिकलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोलि लागि मृत्यु

सिड्नी । विभिन्न स्थानमा आक्रमण गर्ने भारतीय नागरिकलाई अस्ट्रेलियन प्रहरीले गोलि हानी हत्या गरेको छ ।

सिड्नीको अबर्न रेलवे स्टेशनमा एक क्लिनरमाथि छुरा प्रहार गरे पश्चात प्रहरीमाथि आक्रमणको प्रयास गर्ने ३२ वर्षीय भारतीय नागरिक मोहम्मद रहमथुल्लाह सैयद अहमदलाई अष्ट्रेलियाको प्रहरीले मंगलबार गोली हानेर हत्या गरेको हो ।

अहमदले मंगलबार बिहान १२ : ०३ बजे सिड्नीको पश्चिममा रहेको अबर्न रेलवे स्टेशनमा कार्यरत एक २८ वर्षीय क्लिनरमाथि आक्रमण गरेका थिए । घटनाको करिब पाँच मिनेटपछि अबर्न प्रहरी चौकी पुगेका उनले त्यहाँका प्रहरी अधिकारीमाथि पनि आक्रमणको प्रयास गरेको सिड्नी मर्निङ हेराल्डले लेखेको छ ।

प्रहरी माथि नै आक्रमणको प्रयास भएपश्चात प्रतिकारमा गोलि हानिएको न्यू साउथवेल्स प्रहरी सहायक आयुक्त स्टुअर्ट स्मिथले मंगलबार एक पत्रकार सम्मेलनमा जनाएका छन् ।

शान्ति सुव्यवस्थामा खटिएको प्रहरी माथि नै आक्रमण हुन खोज्नु निकै गम्भीर र चिन्ताको विषय भएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले उनको मानसिक स्वास्थ्य अवस्था र अन्य थप विषयमा अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

अस्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासका अनुसार ब्रिजिङ भिसामा अबर्नमा बस्दै आएका आक्रमणकारी भारत तमिलनाडुका हुन् ।