एन्जाले समुदायसगं अन्तरक्रिया गर्दै, २ पत्रकार पुरस्कृत हुने

सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाले समुदायसगं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी मे ५ तारिख शुक्रबारका दिन सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।

बेलुकी ६ बजेदेखि सुरु हुने कार्यक्रममा अस्ट्रेलियामा बढ्दो नेपाली जनसंख्या सगैं नेपाली समुदायको अपेक्षा, एन्जाको धारणा र वर्तमान पत्रकारिताका विभिन्न विषयमा रहेर छलफल गरिने संस्थाका महासचिव नारायण खड्काले जानकारी दिए । उनका अनुसार कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल प्रमुख अतिथिको रुपमा सहभागी हुँदैछन् भने न्यू साउथ वेल्स राज्यमा रही क्रियाशील समूदायका अग्रजहरु सबैलाई आमन्त्रण गरिएको छ । संस्थाका कोषाध्यक्ष खगेन्द्र सत्यालले अहिले कार्यक्रमको तैयारीका विभिन्न कामहरु तीब्र रुपमा अगाडी बढेका छन् । उनका अनुसार यस पटकको यो सामूदायिक कार्यक्रमका लागि ब्राईटन कलेजले फ्रिडम ईभेन्ट पार्टनरका रुपमा सघाएको छ । कार्यक्रमका संयोजक कृष्ण तिवारीले फ्रिडम सपोर्टरका रुपमा एनआरएन अष्ट्रेलिया, न्यू साउथ वेल्स महावाणिज्यदूतको कार्यालय र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको जानकारी दिए ।

यस्तै सपोर्टरका रुपमा एविसी ग्लोबल, अस स्टडिज, ईन्ट्याक्ट माईग्रेसन सर्भिसेज र केविए ग्लोबलले सघाएका छन् । २ पत्रकार सम्मानित हुँदै कार्यक्रममा टीका कार्की सक्रिय पत्रकारिता पुरस्कारको पहिलो संस्करण समेत वितरण गरिने भएको छ । एक हजार डलर राशीको पुरस्कार पहिलो पटक एन्जाका पूर्वअध्यक्षहरु हेमन्त काफ्ले र ऋषि आचार्यलाई संयुक्त रुपमा प्रदान गरिने बताईएको छ । अष्ट्रेलियामा रही यहाँको समूदायसँग निकट सम्बन्ध राख्दै पत्रकारिताको लामो अभ्यास गरेका आधारमा उनीहरुलाई सम्मान गर्न लागिएको एन्जाका सचिव सरल गुरुङले जानकारी दिए । हिमालय रेडियोमा विगत दुई दशकदेखि क्रियाशील पत्रकार टीका कार्कीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । हरेक दुई वर्षमा क्रियाशील पत्रकारलाई एवार्ड र नगदसहित सम्मान गर्ने गरिन्छ । एन्जा अष्ट्रेलियाका अध्यक्ष चिरञ्जीवी देवकोटाले कार्यक्रममा सबैलाई निम्तो पठाइसकिएको र सबैको सहभागिताका लागि आह्वान गरेका छन् । नेपाली पत्रकारहरुको कर्मलाई समूदायले कसरी लिएको छ भन्ने एउटा समिक्षात्मक बसाई हुनेछ भन्ने आफुले अपेक्षा गरेको अध्यक्ष देवकोटाले बताए ।

अष्ट्रेलियामा रही नेपाली सामूदायिक पत्रकारिता गर्ने २० भन्दा बढी संस्थाहरु छन् भने ५० भन्दा बढी पत्रकारले यी संस्थामा आबद्धता जनाएका छन् । यस्तै नेपालबाट प्रकाशित पत्रपत्रिका, टेलिभिजन र अनलाईनहरुको अष्ट्रेलिया प्रतिनिधिका रुपमा समेत केही पत्रकार क्रियाशील छन्