गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आउँदो अक्टुबर १४ मा काठमाडौंको हायत होटलमा सुरु हुँदैछ । झन्डै ८० वटा देशमा एनआरएनले संगठन विस्तार गरेको छ । सबै एनसीसीमा अधिवेशन भइसकेको छैन, हुनेक्रम जारी छ । गत जुलाई ६ मा नै एनआरएन अस्ट्रेलियाले निर्वाचन सम्पन्न गरेको थियो । उक्त निर्वाचनले केशव कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
प्रत्येक दुई वर्षमा हुने एनआरएनको विश्व सम्मेलन नजिकिदै गर्दा संस्थाको नेतृत्व लिन दुईवटा समूह अहिलेसम्म अगाडि देखिएको छ । नयाँ नेतृत्वका लागि सबैभन्दा धेरै उम्मेदवार भएको अस्ट्रेलियाको एनआरएन विश्व सम्मेलनमा कस्तो भूमिका रहन्छ भन्ने विषयमा अध्यक्ष केशव कँडेलसँग लन्डन नेपाल न्यूजका लागि तक्दीर अधिकारीले गरेको कुराकानी–
० आउँदो अक्टुबरमा काठमाडौंमा हुने एनआरएन विश्व सम्मेलनलाई कसरी नियाल्नु भएको छ ?
– एनआरएन विश्व सम्मेलनमा हुने नयाँ नेतृत्व छनोटका लागि एनआरएनए अस्ट्रेलिया सबैभन्दा धेरै उम्मेदवार भएको एनसीसी हो । त्यसैले उक्त विश्व सम्मेलनमा एनआरएनए अस्ट्रेलियाले विशेष महत्व राख्छ । तर कसरी अगाडि बढ्ने भन्ने स्पष्ट निर्देशिका नआएकाले हामी कसरी अघि बढ्ने भन्ने कुरामा पर्ख र हेराइको अवस्थामा छौं ।
० एनआरएन अस्ट्रेलियाको भूमिका के हुन्छ ?
– सबैले विवेक प्रयोग गरेर सक्षम नेतृत्व छनोट गर्नेछन् भन्ने कुरामा म विश्वास्त छु ।
० सर्वसम्मत नेतृत्व छनोट हुने देख्नुहुन्छ ?
– सर्वसम्मत नेतृत्व छनोट हुन्छ जस्तो मलाई लाग्दैन । निर्वाचनमा जानकै लागि भनेर अध्यक्षका दुई उम्मेदवार कुल आचार्य र कुमार पन्त अगाडि आइसक्नु भएको छ । निर्वाचित कार्यसमितिले नै राम्रो काम गर्न सक्छ । सर्वसम्मत नेतृत्व छनोट हुनुपर्छ भन्ने मलाई लाग्दैन ।
० सर्वसम्मतबाट नेतृत्व छनोट राम्रो होइन ?
– निर्वाचन प्रकृयाबाट जाँदा उम्मेदवारले आफ्नो एजेन्डा प्रस्तुत गर्छन् । त्यो एजेन्डालाई मतदाताले छनोट गर्ने हो । लोकतान्त्रिक विधिका अगाडि सर्वसम्मत नेतृत्व उपयुक्त होइन भन्ने मलाई लाग्छ ।
० केन्द्रीय प्रतिनिधिका लागि अस्ट्रेलियाबाट पनि उम्मेदवारी घोषणा गरेका छन् । एनसीसी अस्ट्रेलियासँग छलफलपछि उहाँहरुले उम्मेदवारी घोषणा गरेका हुन् ?
– अस्ट्रेलियाको एनआरएनए भनेको विश्वकै उत्कृष्ट एनआरएनए हो । अस्ट्रेलियाबाट उम्मेदवार बन्ने साथीहरुसँग सामान्य कुराकानी भएको हो । म पनिउम्मेदवार हुँ उहाँहरुले भन्नुभएको छ । औपचारिक निर्णय वा संस्थागत रुपमा कुनै छलफल भएको होइन ।
० तपाईंहरुलाई औपचारिक जानकारी छैन ?
– आधिकारिक रुपमा त्यस्तो कुनै निर्णय पनि भएको छैन, जानकारी पनि छैन ।
० विश्व सम्मेलनमा भाग लिन जाँदा थुप्रै रकम बुझाउनुपर्छ भन्ने चर्चा छ नि?
– गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागी हुनका लागि आईसीसीले नै रकम निर्धारण गरेको हुन्छ । सम्मेलन सफल बनाउनका लागि व्यक्तिको सहभागिता, उसका लागि लाग्ने होटल खर्च सबै आइसीसीले निर्धारण गरेको हुन्छ । यसमा एनसीसीको कुनै भूमिका रहँदैन ।
० सम्मेलनमा को–को सहभागी हुन पाउँछन् ?
– आईसीसी र एनसीसीका पूर्व र वर्तमान पदाधिकारीका लागि स्पष्ट गाइडलाइन छ । अरु सदस्यका लागि जो पहिला आउँछ उ सहभागी हुन पाउँछ ।
० आफ्नो प्यानलको मान्छे लैजाने प्रतिस्पर्धा हुँदैन ?
– एनआरएनए अस्ट्रेलियामा को कसको प्यालन हो भन्ने जानकारी मलाई छैन ।
० अस्ट्रेलियाबाट उम्मेदवार घोषणा गर्नेहरुको अवस्था कस्तो देख्नुहुन्छ ?
– अहिले नै यो विषयमा बोल्न हतार हुन्छ ।






