‘कसैसँग प्रतिस्पर्धा गर्न जनसम्पर्क समिति (एनएसडब्लु) गठन भएको होइन’

सिड्नी । नेपाली जनसम्पर्क समिति एनएसडब्लुका अध्यक्ष इसान शाक्यले कसैसँग प्रतिस्पर्धा गर्न नेपाली जनसम्पर्क समिति एनएसडब्लु गठन नभएको बताएका छन् । गत आइतबार जनसम्पर्क समिति अस्ट्रेलियाको न्यू साउथवेल्स राज्य समितिले आयोजना गरेको चियापान र अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले भने, कसैसँग प्रतिस्पर्धा गर्न नभई पार्टी संगठनलाई बलियो बनाउन नेपाली जनसम्पर्क समिति एनएसडब्ल्यू राज्य समिति गठन भएको हो । ‘हामी प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने र कांग्रेस पार्टीसँग निकट सवैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छौं, यो कसैलाई काखा, कसैलाई पाखा बनाउन गठन भएको हैन, यति धेरै नेपाली भएको यो राज्यमा पार्टीको उपस्थिति दरिलो बनाउन आज यो गठन गर्नुपरेको हो,’ शाक्यले भने ।

कार्यक्रममा नवगठित न्यूसाउथवेल्स राज्य समितिका कार्यसमिति र सल्लाहकारलाई सफल कार्यकालको शुभकामना दिइएको थियो । नवगठित जनसम्पर्क समितिका अध्यक्ष इथान शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका पाका नेता तथा नुवाकोट जिल्लाका पूर्व पार्टी सभापति ध्रुव अधिकारी, चितवन रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरे, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका स्वकीय सचिव किरण खनाल अतिथि थिए ।

कार्यक्रममा नेता अधिकारीले पार्टीभित्र गुट हुनु नौलौ विषय नभए पनि त्यसलाई सम्वोधन गरेर सवैका आवाजलाई मिलाउँदै संगठनलाई बलियो बनाउनुपर्ने बताए । अहिले अष्ट्रेलियामा रहेको पार्टीको वास्तविक सांगठनिक परिस्थितिलाई आफूले नजिकबाट नियालिरहेको र यहाँको गतिविधिका बारेमा पार्टी केन्द्रलाई प्रतिवेदन बुझाउने बताए ।

‘एनएसडब्ल्यूमा जनसम्पर्क समितिलाई बलियो बनाएर नयाँ कार्यसमितिले काम गरिरहेको छ, त्यसले हामीलाई निक्कै हर्षित बनाएको छ । शाक्यजीको टिमले पार्टी संगठन दरिलो बनाउन राम्रो सुरुवात गरेको आभाष भएको छ । यसलाई निरन्तरता दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ अधिकारीले भने । कार्यक्रमका अर्का अतिथि घिमिरेले अष्ट्रेलियामा पार्टीले आफुलाई गरेको आतिथ्यताले निक्कै हर्षित तुल्याएको र पार्टीका कार्यक्रममा सहभागि हुन पाउँदा निक्कै खुसी लागेको बताए ।

जनसम्पर्क समितिका संस्थापक तथा युवा नेता दिनेशराज जोशीले पार्टीभित्र रहेका विवादलाई सुल्झाई अघि बढ्नुपर्ने आवश्यकता आएकोले यसको भूमिकाका लागि एनएसडब्ल्यू राज्य समिति लाग्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष छिरिङ शेर्पाले पार्टी ब्यक्तिवादी भन्दा पनि संस्थाको रुपमा अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्च (एनएडिएफ) का अध्यक्ष विवेक थापा, कांग्रेसका स्थानीय नेता सुरेन्द्र सापकोटा, डिल्लीराज ढकाल महाधिवेशन प्रतिनिधि कन्चन पोखरेल, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, एनआरएन आइसीसी सदस्य अरुण ठाकुर, एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, वरिष्ठ पत्रकार माधव गैरे, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, ल्यूमिया नेपाली समाजका अध्यक्ष एवं पत्रकार प्रकाश हुमागाई, नारी निकुन्जकी प्रतिनिधि अन्जना बस्नेत, रामजी बस्नेत, परेश घिमिरे, विश्वमित्र खनाल, भूपाल सिटौंला, भीम वस्नेत लगायतको उपस्थिति थियो ।

समितिका महामन्त्री सूर्य खनालले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांगे्रसमा आस्था राख्ने प्रवासी नेपालीको बाक्लो उपस्थिति थियो । कार्यक्रम सिड्नीको एसफिल्डमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *